काठमाडौं । संसारलाई सत्यको उज्यालो देखाउने र न्यायका लागि आवाज बुलन्द गर्ने सञ्चारकर्मीहरूका लागि सन् २०२५ निकै भयावह वर्ष सावित भएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को पछिल्लो प्रतिवेदन अनुसार, यस वर्ष मात्रै विश्वभर १२८ जना पत्रकार र सञ्चारकर्मीले आफ्नो कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाउनुपरेको छ । यो तथ्याङ्कले पत्रकारिता क्षेत्रमा बढ्दो असुरक्षा र हिंसाको कुरूप चित्र प्रस्तुत गरेको छ ।
प्रतिवेदनले विशेषगरी मध्यपूर्व र अरब क्षेत्र पत्रकारहरूका लागि सबैभन्दा घातक बनेको देखाएको छ, जहाँ आधाभन्दा बढी पत्रकार मारिएका छन् । यसमा पनि प्यालेस्टाइनको गाजा क्षेत्र सबैभन्दा जोखिमपूर्ण देखिएको छ, जहाँ मात्रै ५६ जना सञ्चारकर्मीको मृत्यु दर्ता भएको छ ।
युद्धग्रस्त क्षेत्र मात्र होइन, आन्तरिक अशान्ति र सङ्गठित अपराध व्याप्त रहेका यमन, युक्रेन, सुडान, पेरु र भारतजस्ता देशहरूमा पनि पत्रकारहरूले निरन्तर मृत्युको छायामा काम गर्नुपरेको छ । आइएफजेका महासचिव एन्टोनी बेलाञ्जरले यो भयावह अवस्थालाई ‘पत्रकारितामाथिको वैश्विक रेड अलर्ट’ संज्ञा दिँदै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार पत्रकारहरूको हत्यामा बढ्दै गएको दण्डहीनताले अपराधीहरूको मनोबल उच्च बनाएको छ ।
केवल ज्यान लिने मात्र होइन, सत्यको मुख थुन्न राज्यहरूले जेल हाल्ने प्रवृत्ति पनि डरलाग्दो गरी बढेको छ । हाल विश्वभर ५३३ पत्रकारहरू जेलमा कैद छन्, जुन विगत पाँच वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । यसरी पत्रकारलाई थुन्ने सूचीमा चीन र हङकङ सबैभन्दा अगाडि देखिएका छन् ।
फरक–फरक अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नै मापदण्डमा तथ्याङ्क सार्वजनिक गरे तापनि सबैको निष्कर्ष एउटै छ- पत्रकारितामाथि चौतर्फी प्रहार भइरहेको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आइएफजे) र युनेस्कोले पनि मारिने पत्रकारहरूको सङ्ख्या उल्लेख्य रहेको पुष्टि गर्दै प्रेस स्वतन्त्रताको संकुचनप्रति गम्भीर चासो देखाएका छन् ।
यी सबै निकायले विश्वभरका सरकारहरूलाई पत्रकारको सुरक्षा, न्याय र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न तत्काल कडा कदम चाल्न आग्रह गरेका छन् । सत्यको अन्वेषण गर्नेहरूको सुरक्षा नभएसम्म लोकतन्त्र र न्यायपूर्ण समाजको परिकल्पना अधुरो रहने चेतावनी समेत यी प्रतिवेदनहरूले दिएका छन् ।










