images
images

बागमती प्रदेशका पत्रकारको जिरीमा सभा हुने, मुख्यमन्त्री भोली दोलखा आउने

  • १८ माघ २०७९, बुधबार २०:०१

जिरी (दोलखा) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल दोलखा आउनुहुने भएको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको जिरीमा हुन लागेको साधारण सभा उद्घाटनका लागि मुख्यमन्त्री जम्मकट्टेल दोलखा आउन लाग्नुभएको हो । उहाँ पर्सि शुक्रबार दोलखाको जिरीमा हुने साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ । मुख्यमन्त्री जम्मकट्टेल भोली जिल्ला सदरमुकाम चरिकोट आउने र सरकारी कार्यालयहरुको अनुगमन, निरिक्षण र कार्यालय प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।

यसैगरी, उहाँले जिल्लाका जनप्रतिनिधिहरुसँग छुट्टै छलफल गर्ने कार्यक्रम पनि तय भएको छ । त्यसपछि उहाँ भोली बेलुकी जिरी आएर बस्नुहुने छ भने पर्सि विहान १० बजे जिरीमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको साधारण सभाको उद्घाटन गर्ने कार्यक्रम छ । सभाको सम्पूर्ण तयारी पूरा भएको महासचिव कृष्ण सारु मगरले जानकारी दिनुभयो । साधारणसभाका लागि नेपाल पत्रकार महासंघ दोलखा शाखाले व्यवस्थापनको जिम्मा लिएको छ । बागमती प्रदेशभरका पत्रकारहरुको स्वागत र व्यवस्थापनका लागि पत्रकार महासंघ दोलखा शाखाले आवश्यक व्यवस्था मिलाइसकेको अध्यक्ष दिपशंकर चौलागाईले बताउनुभयो ।

साधारणसभामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठ र बागमती प्रदेशभरका करिब डेढ सय भन्दा बढी क्रियाशील पत्रकारहरुको सहभागीता रहनेछ । साधारण सभा २० र २१ गते गरी दुई दिनसम्म चल्नेछ ।