images
images

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा व्यवसायी चौधरी पक्राउ

  • १८ माघ २०८०, बिहीबार १३:५५

काठमाण्डौँ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चौधरीलाई पक्राउ गरेको हो । चौधरीलाई आज उनकै निवास काठमाण्डौँको लाजिम्पाटबाट पक्राउ गरिएको ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिनुभयो । उनी प्रतिनिधिसभा सदस्य तथा अर्बपति व्यापारी विनोद चौधरीका भाइ हुन् ।

चौधरीमाथी काठमाण्डौँस्थित बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ । वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि उक्त जग्गालाई निजी सम्पत्ति बनाएको बताईएको छ । यस्तै, चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको सीआईबी प्रमुख बज्राचार्यले जानकारी दिनुभयो । थापालाई पनि प्रहरीले उनकै निवास बत्तिसपुतलीबाट पक्राउ गरेको हो ।

प्रहरीले अरुणलाई पक्राउ गरेपछि थापालाई पनि हिरासतमा लिएको हो । चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुन् भने, उता थापा बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन् बोर्ड अध्यक्ष हुन् ।