images
images

गोकुलगंगामा सर्वाधिक राशीको प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुँदै

  • १९ माघ २०८१, शनिबार १९:२९

रामेछाप । रामेछापको गोकुलगांगा गाउँपालिकामा ‘गोकुलगंगा च्याम्पियनशिप २०८१’ प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुँदैछ ।

गोकुलगंगा युवा सञ्जालको आयोजनामा गोकुलगंगा गाउँपालिकाको चुचुरे–गर्जाङमा बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आगामी फागुन १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको हो ।

डेढ लाख पुरस्कार राशीको प्रतियोगितामा सहभागिताका लागि खेलाडीहरुले फागुन १० गतेसम्म टिम दर्ता गर्न सक्नेछन् । खेलमा बागमती प्रदेशका १३ जिल्लामा अवस्थित पालिकाहरुको खेलाडीहरु सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता र तृतीय हुनेलाई क्रमशः १ लाख, १ हजार १ सय ११ रुपैंया र ५१ हजार १ सय ११ रुपैंया सहित शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको गोकुलगंगा युवा सञ्जालका अध्यक्ष अनुज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सान्त्वना हुनेलाई २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ । गोकुलगंगामा केही समयअघि मात्रै गठित गोकुलगंगा युवा सञ्जालले पहिलो पटक सर्वाधिक राशीको भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

उक्त प्रतियोगिताको आयोजना गर्नको लागि गोकुलगंगा गाउँपालिका र वडा नम्बर-१ चुचुरेले आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ ।