images
images

तामाकोशी पाँचौं निर्माणको ठेक्का माथिल्लो तामाकोशी बनाएको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई

  • १७ फाल्गुन २०७९, बुधबार १६:२०

जिरी (दोलखा) । तामाकोसी–५ जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले पाएको छ ।

तामाकोसी हाइड्रोपावर लिमिटेडले गरेको आर्थिक मूल्यांकनमा सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले छनोट भएको हो । हिजो फाइनान्सियल प्रस्ताव खोलिएकोमा सबैभन्दा कम कवोल सिनो हाइड्रोले गरेपछि छनोटमा परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले जानकारी दिनुभयो । कम्पनीले आयोजना निर्माणका लागि निकालेको ठेक्कामा ४ वटा कम्पनीले आवेदन दिएका थिए ।

जसमा सिनो हाइड्रो र चाइना गेजुवा कम्पनी लिमिटेड प्राविधिक प्रस्तावमा पास भएका थिए । कम्पनीले साउन ९ गते सिभिल संरचना र हाइड्रो मेकानिकलतर्फको ठेक्का निकालेको थियो । सो ठेक्कामा सिनो हाइड्रो छनोट भएको हो । सो कम्पनीले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको सिभिल संरचना निर्माणको काम पूरा गरेको थियो । माथिल्लो तामाकोसी नेपालकै ठुलो जलविद्युत आयोजना पनि हो ।

इटालियन कम्पनी सिएमसी दि रिभेन्नाले अलपत्र पारेर हिडेपछि मेलम्ची खानेपानी आयोजनाको बाकी काम निर्माणको जिम्मा पनि सोही कम्पनीले पाएको थियो । तामाकोशी ५ जलविद्युत आयोजनाको इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्न लागिएको छ । आयोजनालाई दुई भागमा निर्माण गर्न लागिएको छ । पहिलो भागमा सिभिल संरचना र हाइड्रोमेकानिकलको काम गर्न लागिएको हो ।

दोस्रोमा इलेक्ट्रोमेकानिकलको काम हुनेछ । उत्पादित विद्युतलाइ राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न प्रसारणलाइन निर्माण हुनेछ । यो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । सोही कारण माथिल्लो तामाकोसीको टेलरेसको पानी डाइभर्सन मार्फत सिधै तामाकोसीको सुरुङमार्गमा पठाइनेछ । यो आयोजनाका लागि करिब ८ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । सुरीदोभानमा पावर हाउस निर्माण गरिनेछ । पावर हाउस अपर तामाकोसीको जस्तै भूमिगत हुनेछ । अधिकांश संरचना भुमिगत हुने र हेडवक्सन निर्माण गर्न नपर्ने भएकाले वातावरणीय क्षति समेत कम हुने कम्पनीले जनाएको छ । सो आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले आयोजनाको साइट कार्यालय निर्माणको काम धमाधम भइरहेको छ ।

यो वर्ष पूर्व तयारीका काम सकेर आगामी वर्षबाट निर्माण थाल्ने योजना छ । निर्माण सुरु गरेको ४ वर्षमा व्यवसायिक उत्पादन थाल्ने योजना रहेको कम्पनीले जनाएको छ ।