images
images

गौरीशंकरमा पुँजीगततर्फ २६ प्रतिशत बजेट खर्च

  • १८ फाल्गुन २०८०, शुक्रबार ०८:३१

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले चालु वर्षको ७ महिनाको अवधिमा पुँजीगततर्फ २६ प्रतिशत बजेट खर्च गरेको छ ।

पालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ को हालसम्मको अवधिमा २६ प्रतिशत विकास खर्च गरेको हो । गौरीशंकरमा पुँजीगततर्फ १८ करोड ७७ लाख ५१ हजार ४ सय ९९ रुपैयाँ बजेट विनियोजन गरिएकोमा ४ करोड ८८ लाख १५ हजार ३ सय ८९ रुपैयाँ खर्च गरिएको हो । चालु वर्ष पालिकाले कुल बजेट ५७ करोड ७१ लाख ४ हजार ४ सय ९९ रुपैयाँ विनियोजन गरिएकोमा हालसम्मको अवधिमा ४५ प्रतिशत काम सम्पन्न भैसकेको गाउँपालिकाका सूचना अधिकारी बसन्तराज रेग्मीले जानकारी दिनुभयो ।

गाउँपालिकाले चालु वर्ष १२५ ओटा योजना सञ्चालन गरेकोमा १५ वटा योजना सम्पन्न भएर भुक्तानी भैसकेको छ । अन्य सम्पन्न भएका योजनाको भने भुक्तानी हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । पालिकामा चालु वर्षको हालसम्मको अवधिमा ८७ वटा योजना सम्झौता भई कार्यान्वयन भैरहेको छ भने ३८ वटा सम्झौता हुन बाँकी छ ।

गौरीशंकर गाउँपालिकाले चालु वर्ष उपभोक्ता समितिमार्फत् ६८ वटा योजना सञ्चालन गरिएको छ भने १३ वटा ठेक्का प्रक्रियामार्फत् सञ्चालन हुनेछन् । ठेक्का प्रक्रियामार्फत् सञ्चालन हुने योजनामध्ये एक वटा योजनामात्र सम्झौता हुन बाँकी रहेको छ । प्रदेश सरकारबाट ७ वटा र संघीय सरकारबाट ६ वटा योजना चालु वर्ष सञ्चालन हुँदैछ । पालिकाले सम्झौता हुन बाँकी रहेका सबै योजना यही फागुन ३० गतेभित्र सम्झौता गरी चैत्रबाट कार्यान्वयमा गई असार अगावै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले चालु वर्ष केही समय प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा योजना सम्पन्न भएर पनि भुक्तानी हुन बाँकी रहेका कारण सम्पन्न भएका योजनाको संख्या कम देखिएको जानकारी दिनुभयो । उहाँले चालु वर्षको फागुनसम्म बाँकी योजनाको सम्झौता भैसक्ने र बैशाखसम्म गाउँपालिकाले सञ्चालन गरेका अधिकांश योजनाको भुक्तानी भैसक्ने गरी धमाधम काम भैरहेको बताउनुभयो । विकास निर्माणका योजनालाई गुणस्तरीय बनाउनका लागि समयमै योजनाको सम्झौता गरी काम सम्पन्न गर्ने नीति लिएको उहाँको भनाई छ ।