images
images

दोलखाको कालिञ्चोक क्षेत्रमा भारी हिमपातः बढे पर्यटक, केवलकार बन्द

  • १७ फाल्गुन २०८१, शनिबार १४:५७

दोलखा । दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चोकमा भारी हिमपात भएको छ ।

मंसिर र पुस महिनामा फाट्टफुट्ट हिमपात भएको कालिञ्चोक क्षेत्र फागुनको तेस्रो साता पहिलोपटक हिउँले सेताम्मे भएको हो । कालिञ्चोक लगायतका उच्च भेगमा हिमपात भएसँगै यी क्षेत्रका होटल व्यवसायी उत्साहित बनेका छन् ।

एक्कासी मौसम बदलि भएसँगै गयराती र आज बिहानसम्म भएको हिमपातले पर्यटक बढ्ने भन्दै व्यवसायी उत्साहित बनेका हुन् । ३ हजार ८ सय ४२ मिटर उचाईमा रहेको धार्मिक एवँ पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात भएपछि हिउँ खेल्न पुग्ने आन्तरिक पर्यटक बढेको होटल व्यवसायीहरुले बताएका छन् ।

सनिवार बिशेष भिडभाड हुने कालिन्चोक क्षेत्रमा हिमपात भएपछि कुरी क्षेत्र पर्यटकले भरिभराउ भएको कुरीका होटल व्यवसायी चन्द्र लामाले बताउनुभयो । यो मौसम भ्रमणका हिसावले राम्रो भएकाले अहिले कालिञ्चोकमा पर्यटकको चाप बढ्दै गएको छ । अन्य दिनको तुलनामा यो क्षेत्रमा शुक्रवार र शनिवार बढी पर्यटक पुग्ने गरेका छन् । गयराती एक्कासि हिमपात भएपछि कालिञ्चोकमा धेरै पर्यटक पुगेका हुन् ।

यता, रोल्वालिङ क्षेत्रको पर्यटकीय गाउँ ना र बेदिङमा पनि भारी हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको छ । गयराती र आज बिहान जिल्लाका विभिन्न क्षेत्रमा सामान्य हिउँदे वर्षा भएको छ । लामो समयको खडेरीले अन्न बाली बिग्रन थालेकोे भन्दै चिन्तित बनेका दोलखा आसपासका किसानलाई वर्षाले केही राहत पुगेको छ । ढिलैगरी भएपनि भएको हिउँदे वर्षाले गहुँ जौ, आलु लगायत अन्न बालीलाई केही राहत मिलेको हो ।

हिमपातले हिउँदे बालीलाई फाईदा पुग्ने भएपनि वर्षासँगैको चिसोका कारण जनजिवन भने प्रभावित भएको छ । यसैैबीच, हिजो दिउँसोदेखि कालिञ्चोकमा केवलकार बन्द भएको छ । कालिञ्चोक दर्शन लिमिटेडका मेनेजर तिलक दुलालले हिजो दिउँसोदेखि केवलकार बन्द भएको जानकारी दिनुभयो । मेनेजर दुलालले कालिञ्चोक क्षेत्रमा हिजो एक्कासि लागेको हावाहुरीका कारण केवलकार बन्द गरिएको बताउनुभयो । अहिले पनि हावाहुरी कम नभएकाले सुचारु नभएको उहाँको भनाई छ ।