images
images

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जिरी नगरपालिकालाई

जिरी(दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा भएको ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जिरी नगरपालिकाले हात पारेको छ ।

जिरी माविको खेल मैदानमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि जिरी नगरपालिकाले हात पारेको हो । जिरी नगरपालिकाले १० स्वर्ण ५ रजत र ८ कास्य गरी २३ पदक प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएको हो । यो सँगै जिरीले दोस्रो पटक जित हात पारेको छ । यस्तै, उपविजेत बनेको शैलुङ गाउँपालिकाले ६ स्वर्ण, ८ रजत, १ कास्य गरी १५ पदक प्राप्त गरेको छ । तृतीय स्थान लिन सफल भएको बिगु गाउँपालिकाले ४ स्वर्ण, ८ रजत ३ कास्य गरी १५ पदक लिएको छ ।

विजय खेलाडीहरुलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष आशिष घिसिङ, जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगिताका विजेताले ३५ हजार, उपविजेताले २५ हजार, तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

दोलखा जिल्ला खेलकुद विकास समितिको आयोजना, जिरी नगरपालिकाको सहआयोजना र जिरी माविको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा भलिबल, दौड, कबडी, हाईजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो लगायतका खेल भएको थियो। प्रतियोगितामा २ नगरपालिका र ७ गाउँपालिकाका खेलाडीहरुको सहभागीता थियो ।