इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा पुनःव्यापक सैन्य आक्रमण सुरु गरेको छ ।
इरानले मिसाइल र ड्रोनमार्फत अमेरिकी सैन्य उपस्थिति रहेका स्थान तथा तिनका क्षेत्रीय साझेदारलाई लक्षित गरी आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ । इरानले इराक, सिरिया र खाडी क्षेत्र आसपास रहेका अमेरिकी रणनीतिक सैन्य संरचनातर्फ नयाँ ‘वेभ अफ स्ट्राइक्स’ सञ्चालन गरेको पुष्टि भएको छ ।
सीएनएनका अनुसार आक्रमणहरू समन्वित ढंगले विभिन्न दिशाबाट गरिएको देखिन्छ, जसले क्षेत्रीय तनाव अझ खतरनाक स्तरमा पुगेको संकेत गरेको छ । इरानले यसअघि अमेरिकी–इजरायली सैन्य कारबाहीको प्रतिकारस्वरूप क्षेत्रभर ‘निरन्तर जवाफी कदम’ चाल्ने चेतावनी दिएको थियो ।
पछिल्लो आक्रमण त्यसै रणनीतिक प्रतिक्रियाको निरन्तरता मानिएको छ । खाडी क्षेत्रका कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्सले सैन्य सतर्कता उच्च बनाएका छन् भने केही देशहरूले हवाई क्षेत्र आंशिक रूपमा सीमित गरेका छन् ।
दुबईमा हालै एउटा विमानस्थलमा आक्रमणपछि आगो लागेको छ भने बहराइन क्षतबिक्षत भएको छ । इरानी रेड गार्डले अमेरिकामाथि चाँडै इतिहासकै ठूलो र कसैले नसोचेको आक्रमण गर्ने चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।










