images
images

दोलखाको कालिञ्चोक र शैलुङमा बाक्लो हिमपात

  • १८ चैत्र २०७९, शनिबार १५:११

दोलखा । दोलखाको धार्मिक एवम् पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङमा आज बाक्लो हिमपात भएको छ ।

एक्कासी मौसम बदलि भएसँगै आज दिउँसो कालिञ्चोक र शैलङमा बाक्लो हिमपात भएको हो । यो वर्ष चैत महिना सुरु भएपछि दोलखाका पर्यटकीय क्षेत्रमा लगातार हिमपात भइरहेको छ । हिमपात भएसँगै कालिञ्चोक र शैलुङ क्षेत्र सेताम्य भएको छ । ३ हजार ८ सय ४२ मिटर उचाईमा रहेको धार्मिक एवँ पर्यटकीय क्षेत्र कालिन्चोकमा हिमपात भएपछि हिउँ खेल्न बाक्लो रुपमा आन्तरिक पर्यटकहरु पुगेका छन् । शनिवारको दिन हिमपात भएकाले कालिञ्चोकमा हिउँ खेल्न आज धेरै पर्यटक पुगेका हुन् ।

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण कालिञ्चोक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ । पर्यटकहरु प्रकृतिसँग रमाउन र हिउँसँग खेल्न कालिञ्चोकमा पुगेका छन् । यस्तै शैलुङडाँडाको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । चैत महिनामा वर्षा र हिमपात भएपछि शैलुङका किसान हर्षित भएका छन् । यो समयमा हिमपात र वर्षा हुँदा आलु खेती फस्टाउने भएकाले स्थानीय हर्षित भएका हुन् । अहिले पनि कालिञ्चोक र शैलुङमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोटमा बाक्लो हुस्सुसँगै वर्षा भइरहेको छ ।

पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो । कोशी, बागमती र गण्डकी प्रदेशमा आज मेघगर्जन, चट्यांङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले स्थानीय र पश्चिमी वायुको प्रभावका कारण कोसी, वागमती र गण्डकी प्रदेशमा धेरै वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज रातिसम्म देशभर पानी पर्ने र आइतबारदेखि विस्तारै हट्दै जानेछ । भोली कोशी प्रदेश लगायत पहाडी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।