
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने जापानीज नागरिक सहित ७ जना घाइते भएका छन् ।
खाँडादेवी गाउँपालिका वडा नम्बर १ डाँडागाउँस्थित दिमिपोखरीबाट काठमाडौंतर्फ जाँदै गरेको डलब क्यापको बा १६ च ३२२५ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय कालुमान तामाङको मृत्यु भएको हो । बोलेरो सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको रामेछापको प्रहरी चौकी लुभुघाटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार खाडादेवी ७ कै ३७ वर्षीय रुपसिंह तामाङ, उनकी छोरी २३ वर्षीया सुस्मा तामाङ, सोही स्थानका १० वर्षीय बालक नेस्नल तामाङ, ३३ वर्षीया सविना तामाङ, उनकी छोरी ७ वर्षीया कुइन तामाङ, ४२ वर्षीय दिनेश श्रेष्ठ र जापानीज नागरिक ४३ वर्षीया सातो काजुभी घाइते भएका छन् ।
घाइते भएकामध्ये मध्यम अवस्थाका सुस्मा र नेस्नलको धुलिखेल अस्पतालमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको रामेछाप प्रहरीले जनाएको छ ।