images
images

एसईई परीक्षाको सामूहिक अनुगमनमा रोक,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिने

  • १८ चैत्र २०८२, बुधबार ११:३१

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि देखि सुरु हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुने छ।

परिक्षा तालिका

पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिएका छन् ।

सामूहिक अनुगमनमा रोक

बोर्डले यसवर्ष एसईई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए।

बाहिरी तस्बिर मात्रै लिन मिल्ने

अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिरी क्षेत्रमा मात्र अनुगमन गर्ने निर्णय बोर्डले गरेको छ।

पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने गरि व्यवस्था मिलाइएको छ।

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण

यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय बोर्डले गरेको छ। सम्बन्धित केन्द्रममा शिक्षक नभएमा वा असुरक्षित भएमा मात्रै शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को व्यवस्था गर्न सक्ने बोर्डले जनाएको छ।

परीक्षा सकिएको एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो।

शिक्षामन्त्री सस्मित पोखरेलले एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिइ सकेका छन्।