images
images

‘प्रचण्ड’ र ‘बादल’ को संयोगः जनयुद्धमा सँगसँगै अहिले बने फरक दलको नेता

जनयुद्धका सर्वोच्च नेता र सैन्य योजनाकार एकैसाथ दुई फरक पार्टीवाट संसदीय दलको नेता चयन भएका छन् ।

माओवादी जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दहाल (प्रचण्ड) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र सैन्य कमाण्डर रामवहादुर थापा (बादल) नेकपा एमालेवाट संसदीय दलको नेता चयन भएका हुन् ।

सर्वसम्मत दलको नेता चयन

प्रचण्ड चैत १५ मा र बादल त्यसको तीन दिनपछि चैत्र १८ गते संसदीय दलको नेता चुनिएका हुन् । दुवै नेता सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन भएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रचण्ड गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुकुम पूर्ववाट विजयी भएका हुन् भने एमाले उपाध्यक्ष बादल एमालेको समानुपातिक सूचिवाट निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यको सपथका दिन संसदमा संगै देखिएका प्रचण्ड र बादल अव दुई फरक दलको संसदीय दलको नेताको हैसियतले संसदमा प्रतिनिधित्व गर्ने छन् ।

हिजो सँगसँगै आज फरक बाटो

जनयुद्धका दुई मुख्य नेता फरक–फरक पार्टीवाट संसदीय दलको नेताको हैसियतले संसदमा प्रतिनिधित्व गर्ने भएपछि यसलाई चासोका साथ हेरिएको छ ।

२०५२ सालमा नेकपा माओवादीले सशस्त्र विद्रोह गर्दा बादल मुख्य नेता मध्ये एक थिए । शान्ति प्रक्रियापछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा उनी रक्षामन्त्री थिए । २०७४ मा केपी ओली नेतृत्वको सरकारमा बादल माओवादीको तर्फवाट सरकारको नेतृत्व गर्दै गृहमन्त्री बनेका थिए ।

२०७७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको विभाजन पछि एमालेमै रहेका बादल महाधिवेशनवाट पार्टी उपाध्यक्षमा निर्वाचित हुँदै अहिले एमालेको संसदीय दलको नेता बनेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष केपी ओलीसहित प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएपछि बादलले दलको नेता बन्ने अवसर पाएका हुन् । प्रतिनिधि सभामा एमालेका प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद छन् ।

प्रचण्ड लगातार दलको नेता

प्रचण्ड शान्तिप्रक्रियापछि एक पटक वाहेक लगातार संसदीय दलको नेता चुनिएर तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । २०६५ साउनमा सवैभन्दा ठूलो दलको हैसियतले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड २०७३ सालमा कांग्रेसको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।

२०७९ पुसमा एमाले सहितका दलहरुको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्ड जेनजी आन्दोलनपछिको प्रतिनिधिसभामा पनि नेकपावाट संसदीय दलको नेताकोरुपमा प्रतिनिधित्व गर्ने छन् ।