images
images

बागीलाई उम्मेदवारी फिर्ताको घोषणा गर्न माओवादी बागमती प्रदेश समितिको निर्देशन

  • १८ बैशाख २०७९, आईतवार २०:५१

काठमाण्डौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिले प्रदेशभित्रका पालिका तथा वडामा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ताको घोषणा गर्न निर्देशन दिएको छ ।

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले आज विज्ञप्ति जारी गर्दै भोली साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ताको घोषणा गर्न निर्देशन दिनुभएको हो । उहाँले पार्टीको आधिकारिक उम्मेदवारलाई सर्मथन गरेको स्वघोषणा गर्न निर्देशन दिनुभयो । नेकपा माओवादी केन्द्र बागमती प्रदेशभित्र रहेका पालिका तथा वडाहरुमा पार्टीका विरुद्ध बागी (स्वतन्त्र) उम्मेदवारी दिएकाहरुलाई भोली २०७९ वैशाख १९ गते ५ बजेभित्र वक्तव्य निकाली स्वतन्त्र उम्मेदवार नभएको र आफ्नो मत पार्टीको आधिकारिक उम्मेदवारमै रहेको स्वघोषणा गर्न विज्ञप्तिमा भनिएको छ ।

तोकिएको समयसीमा भित्र उम्मेदवारी फिर्ताको घोषणा नगरे पार्टी विधान र बागमती प्रदेशले जारी गरेको निर्वाचन निर्देशिका २०७९ अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।