भक्तपुर । रामेछापका दुई पुरुषको भक्तपुरमा ईनार खन्ने क्रममा मृत्यु भएको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्वर ४ प्रिती का २८ वर्षीय सन्देश सुनुवार र उनका काका सोही स्थानका ४६ वर्षीय दिपक सनुवारको मृत्यु भएको हो । उनीहरुको भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ४ खनालचोकस्थित आँफै बसेको जग्गामा ईनार खन्ने क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । ईनार खन्ने क्रममा अचेत भएका दुवै जनालाई ईनारबाट निकालेर भक्तपुर अस्पताल पु¥याईएपनि अस्पतालले मृत घोषणा गरेको प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत राजन कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरु ईनार खन्दै ५५ फिट तल पुगेपछि अचेत भएको खवर पाउनासाथ प्रहरीको विपद व्यवस्थापन महाशाखा र शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो ।
दुई वर्ष अघिदेखि सोही स्थानमा टहरो बनाएर बस्दै आएका उनीहरु आँफै बसेको जग्गामा ईनार खन्दै थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।










