भक्तपुर । नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ ।
भारतीय रिजर्भ बैंकले डलर आपूर्ति नबढाउँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको हो ।
नेपाल र भारत बीच विनिमयदर प्रणाली स्थिर छ । अर्थात् १६० नेपाली रुपैयाँ बराबरको १०० भारु तोकिएको छ ।
भारतीय रुपैयाँ -भारु) इतिहासकै कमजोर हुँदा पनि रिजर्भ बैंक अफ इन्डिया -आरबीआई)ले अमेरिकी डलरको आपूर्ति बढाउन सकेको छैन ।
मध्यपश्चिमको द्वन्द्वबाट परेको मूल्यवृद्धिसहितको असर र वैकल्पिक अन्तर्राष्ट्रिय व्यापार रणनीतिका कारण भारतीय रुपैयाँ कमजोर बनेको छ ।
डलरको तुलनामा भारु कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर हुन जान्छ । त्यसैले डलरको तुलनामा भारु कमजोर वा बलियो हुँदा नेपाली रुपैयाँ प्रभावित हुन्छ ।
भारतको फरक अन्तर्राष्ट्रिय व्यापार रणनीतिका कारण पनि यतिबेला आरबीआईले डलरको आपूर्ति नबढाएको हुन सक्ने जानकारहरू बताउँछन् ।
मध्यपश्चिमको युद्ध, तेलको मूल्य वृद्धि, समग्र मूल्यवृद्धि, अमेरिकी ब्याजदर वृद्धिका कारण कमजोर बनेको भारुलाई हाल समायोजन नै गर्न दिने नीति भारतले लिएको हुनसक्ने उनीहरूको भनाइ छ ।










