काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुख सहित २ सय ७५ जनालाई सत्ता सञ्चालनको विषयमा आजदेखि प्रशिक्षण दिने भएको छ ।
स्थानीय तहका १ सय २१ जना प्रमुख र १ सय २८ जना उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्षलाई समेत माओवादीले सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो । माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौंको कुमारी हलमा प्रशिक्षण दिन लागिएको पार्टीका कार्यालयका प्रमुख श्रीराम ढकालले जानकारी दिनुभयो । आज विहान पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उद्धघाटन सहित प्रशिक्षण दिनुहुनेछ । स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन तयारी समिति समेत गठन गरिएको छ । कुन–कुन विषयमा कसले कसरी प्रशिक्षण दिने भन्ने विषयमा पार्टीका तर्फबाट ती नेताहरुले गृहकार्य गर्ने भएका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तहमा दोहोर्याएर उठाएका ५० प्रतिशत प्रमुखहरु पराजित भएपछि माओवादीले बोलाएर सत्ता सञ्चालनका विषयमा पहिलोपटक प्रशिक्षण दिन लागेको हो । जनप्रतिनिधिलाई राजनीतिक, वैचारिक, प्रशासनिक, कानुनी, लेखा परीक्षण, सूचना प्रविधिक र जनतासँगको सम्बन्ध सुधारका विषयमा प्रशिक्षण दिइने भएको छ ।










