हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्ष सकिन दुई महिना मात्रै समय बाँकी रहँदा प्रदेश सरकारले कुल बजेटको ३५ प्रतिशत बजेट मात्रै खर्च गरेको हो । अझै ६५ प्रतिशत बजेट खर्च हुन बाँकी रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष प्रदेश सरकारले ५७ अर्ब ७७ करोड ६४ लाख २७ हजार बजेट ल्याएको थियो । जसमध्ये हालसम्म २० अर्ब ५४ करोड ९२ लाख २९ हजार ६ सय ७२ रुपैँया मात्रै बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशमा रहेका मन्त्रालय मध्ये सबैभन्दा बढी बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च गरेको छ ।
अर्थमन्त्रालयले ३५ करोड ६४ लाख १८ हजार बजेटमध्ये हालसम्म २४ करोड ६० लाख ४ सय ४६ रुपैँया खर्च गरिसकेको छ । सबैभन्दा कम बजेट खर्च गर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको छ । सो कार्यालयले ३ अर्ब ७० करोड २९ लाख ७७ हजार बजेट पाएकोमा हालसम्म १५ करोड ७८ लाख ५ हजार २ सय ५३ रुपैँया मात्रै खर्च गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिग्राम जम्मकट्टेलले केन्द्र सरकारबाट प्रदेशमा सञ्चालन भएका योजनाको भुक्तानी बढेसँगै खर्च पनि बढ्ने दावि गर्नुभएको छ ।