images
images

बैतेश्वरका एक पुरुषको शंकास्पद मृत्यु, तीन जना प्रहरीको नियन्त्रणमा

  • १८ जेष्ठ २०८०, बिहीबार २१:०१

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा हिजो एक पुरुषको संकास्पद मृत्यु भएपछि हत्याको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

लडेर मृत्यु भएको भनिएका बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रेका ५८ वर्षीय केदार बहादुर दाहालको मृत्यु शंकास्पद रहेको भन्दै दोलखा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक राजेश सिग्देलले सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । गत मंगलबार दाहाल काब्रेस्थित बगर नजिकै भस्मेको जंगलको मुलगौडा सडक छेउमा लडेर गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि बैतेश्वर अस्पाताल पुर्याएपनि सोही दिन बेलुकी उपचारका क्रममा मृत्यु भएको थियो । मादक पदार्थ सेवन गर्ने गरेका दाहालले सो दिन पनि मादक पदार्थ सेवन गरेर सडकमा हिडिरहेको स्थानीयले बताएका छन् । तर, उनका छोराले घटना शंकास्पद रहेको बताएपछि प्रहरीले अनुसन्धान थालेको होे ।

घटना भएको स्थानमा लडेर ज्यानै जाने खालको ठाउँ नरहेको भन्दै केही व्यक्तिले रिसिबिकै कारण घटना घटाएको हुन सक्ने किटान गरी छोराहरु इश्वर दाहाल र मुनाल दाहालले प्रहरीकोमा जाहेरी दिएका थिए ।बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रेका अध्यक्ष कुमार चौलागाईले घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको बताउनुभयो । प्रहरीले सोधपुछका लागि चुडाराज दाहाल, स्थानीय चन्द्रबहादुर दाहाल र चन्द्र विकलाई नियन्त्रणमा लिएको छ । तीमध्य चुडाराज दाहाल मृतकका दाजु हुन् ।

पक्राउ परेका चुडाराज र चन्द्र दाहालले भने घटनामा आफुहरुको कुनै पनि संलग्नता नरहेको प्रहरीमा बयान दिएका छन् । मृतक दाहालको शवलाई पशुपति चौलागाईं स्मृति अस्पतालमा पोष्मार्टमपछि हिजै अन्त्येटि गरिएको छ ।