
बलिउड अभिनेता सलमान खानविरुद्ध पुनः आक्रमण प्रयास भएको छ ।
तर, अभिनेता सलमान खानमाथिको आक्रमण प्रयासलाई मुम्बई प्रहरीले असफल बनाएको छ । पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स विश्वोइको गिरोहका चार जनालाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले धनञ्जय उर्फ अजय कश्यप, गौरव भाटिया उर्फ न्हाई, वास्पी खान उर्फ वासिम चिकना र जिशान खान उर्फ जावेद खानलाई पक्राउ गरेको छ । यी चारै जना बिश्नोई गिरोहका सदस्य हुन् । चारै जना विरुद्ध आईपीसीको धारा ११५, १२० (बी), ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। आक्रमणका लागि आपूर्तिकर्तामार्फत पाकिस्तानबाट हतियार ल्याउने योजना पनि बनाइएको थियो। सो आरोपमा प्रहरीले हालसम्म लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी ब्रारलगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ।
यसअघि १४ अप्रिलमा पनि सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोलाबारी भएको थियो । दुई मोटरसाइकलमा आएका आक्रमणकारीले ५ राउन्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए । घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो ।