images
images

अत्याधिक गर्मीले भारतको जनजीवन कष्टकर बन्दै, चार दिनमा ३ सय बढीको मृत्यु

  • १९ जेष्ठ २०८१, शनिबार १६:१४

भारतमा गर्मी र तातो लहरका कारण पछिल्लो चार दिनमा मात्रै ३ सय भन्दा बढिको मृत्यु भएको छ ।

भारतका विभिन्न राज्यमा गर्मीका कारण चार दिन भित्रमा ३ सय २० जनाको मृत्यु भएको हो । पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा सबैभन्दा बढि सय जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विहारमा तीन दिनमा ६९ जनाको मृत्यु भएकोमा हिजो मात्रै ४० जनाको मृत्यु भएको हो । जसमध्य २५ जना लोकसभा चुनावी कार्यक्रममा खटिएका कर्मचारी र अधिकारीहरु रहेका छन् । पछिल्लो चार दिनमा तातो लहरका कारण राजस्थानमा ६०, झारखण्डमा ३७, ओडिशामा १८, मध्य प्रदेशमा २ र दिल्लीमा एक जनाको मृत्यु भएको छ ।

भारतको मौसम विभागले आज मुलुकका १४ राज्यमा तातो लहरको चेतावनी दिएको छ । राजस्थान, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, ओडिशा, महाराष्ट्र, मध्य प्रदेश, बिहार, झारखण्ड, छत्तिसगढ, उत्तराखण्ड, आन्ध्रा प्रदेश र हिमाचलमा तातो लहरको चेतावनी दिईएको हो । यसैगरी, गोवा र तेलंगनामा पनि तातो लहरको ससम्भावना रहेको छ । भारतमा सबैभन्दा बढी ४८.२ डिग्री सेल्सियस तापक्रम कानपुरमा रेकर्ड गरिएकोे छ । दोस्रो स्थानमा हरियाणको सिरसामा ४७.८ डिग्री सेल्सियस रहेको छ भने दिल्लीको आयानगरमा ४७ डिग्री सेल्सियसमा रेकर्ड गरिएको भारतको मौसम बिभागले जनाएको छ ।

भारतका केही भागमा चरम तापक्रम जारी रहँदा गर्मीको लहरले मानिसहरुको दैनिक जीवनयापन कष्टकर बन्दै गैरहेको छ । गर्मीका कारण दर्जनौँ विद्यार्थी बेहोस भएपछि राज्य सरकारले सबै निजी र सरकारी बिद्यालय, कोचिङ संस्थान र आँगनवाडी केन्द्रहरुलाई जुन ८ सम्म बन्द गर्न आदेश दिएको छ ।