images
images

किन सम्पर्कविहिन भए १० लाख लुटिएको दावी गर्ने युवक ?

  • १७ असार २०७९, शुक्रबार १६:५७

दोलखा । दिनदहाडै १० लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीलाई उजुरी गर्ने दोलखाका एक युवक सम्पर्कविहिन भएका छन् ।

लुटेरोको आक्रमणवाट घाईते भएको भन्दै उपचारकालागि काठमाण्डौं गएका बिगु गाउँपालिका–४ लादुकका बिरेन्द्र कटुवाल दुई दिनदेखि सम्पर्कविहिन भएका हुन् । बुधवार चरिकोटवाट लामावगरतर्फ १० लाख २० हजार नगद लिएर जाने क्रममा आफु लुटिएको र लुटेराको आक्रमणवाट घाईते समेत भएको दावी गरेका कटुवाल सम्पर्कविहिन भएका हुन् । सिंगटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालािग आफुखुशी काठमाण्डौं गएका कटुवाल सम्पर्कविहिन भएको र उनको मोवाईल समेत स्विच अफ भएको दोलखा प्रहरीले जनाएको छ । घटनाका बारेमा बुझ्न र अनुषन्धानकालागि कटुवाललाई प्रहरी मार्फत जिल्ला झिकाउन प्रयास गरेपनि उनी सम्पर्कमा नआएको र आउन आनाकानी गरेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गंगा पौडेलले जानकारी दिनुभयो ।

रकम नर्तिन नगद लुटिएको नाटक !

बुधवार दिउँसो सदरमुकाम चरिकोटवाट नगद लिएर लामावगर जाने क्रममा दुई वटा मोटरसाईकलमा आएका तीन जनाको समूहले कालिन्चोक गाउँपालिका–७ को झर्मासीमा आफुमाथि आक्रमण गरी नगद लुटेको कटुवालले बताएका थिए । तर, घटनाको प्रकृति र पीडित भनिएका व्यक्तिको गतिविधि बिस्वासिलो नभएपछि दोलखा प्रहरीले कटुवाललाई शंकाको घेरामा राखेको थियो । बिगु गाउँपालिका स्थायी घर भएका कटुवाल पेटी ठेकेदार पनि हुन् । निर्माण कार्यको क्रममा गरिएको निर्माण सामाग्रि खरिद र कामदारको रकम भुक्तानी गर्न नसकेपछि आफुवाट रकम लुटिएको नाटक गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । प्रहरीका अनुसार पीडित भनिएका कटुवालले लुटिएको भनिएको रकमको श्रोत समेत खुल्न सकेको छैन ।