काठमाडौं । बागमती प्रदेशका चार जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।
जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुँदै गएका कारण बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, मकवानपुर र चितवन जिल्ला उच्च जोखिममा रहेको जनाएको हो । विभागले देशभरका ३४ जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेकाले रेड अलर्ट जारी गरेको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा उच्च जोखिमको सम्भावना छ भने २६ जिल्लामा मध्यम जोखिम (यलो अलर्ट) को सम्भावना रहेको जनाएको छ । बागमती प्रदेशको रामेछाप र सिन्धुली जिल्ला यलो अलर्टमा परेका छन् । यलो अलर्ट जारी भएका जिल्लाहरुमा भूक्षय, पहिरो को जोखिम रहेको छ । सतर्क रहन पूर्वानुमान महाशाखाले शहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम रहेको र ठूला तथा साना नदीनाला एवं खोलाहरुमा पानीको सतह बढ्ने भएकाले आग्रह गरेको छ ।
वर्षा र बाढीबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सबैलाई आग्रह गरेका छन् । पछिल्लो समय मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको छ । यसअघि विभागले असार १२ गतेदेखि आजसम्म सतर्कताको सूचना जारी गरेको थियो । यद्यपी नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले पुन आजदेखि २० गतेसम्म सतर्कताको सूचना जारी गरेको हो ।










