काठमाडौँ । सत्तासाझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भेटपछि नयाँ सत्ता समीकरणको चर्चा सुरु भएको छ ।
साथै एमाले र कांग्रेसका नेताहरुबीचको संवाद बाक्लिएको छ । ओली र देउवाको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि लगातार छलफल भईरहेको छ । प्रचण्डसँगको भेटमा ओलीले सत्तासमीकरण परिवर्तन नहुने विश्वास दिलाईरहँदा कांग्रेस र एमालेबीचको नयाँ समीकरणको चर्चा व्यापक बनेको छ ।
ओलीले किन बोलाए मन्त्रीहरूलाई बालकोट ?
नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको कसरत चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष ओलीले आफ्ना पार्टीका मन्त्रीहरुलाई उपत्यका नछाड्न निर्देशन दिँदै छुट्टै बैठक समेत बोलाएका छन् । अध्यक्ष ओलीले तत्काल उपत्यका नछाड्न निर्देशन दिँदै आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुलाई आजै साँझ ६ बजे बालकोटमा बोलाएको बताईएको छ । अध्यक्षको निर्देशनसँगै केही मन्त्रीहरुले भोलीका लागि तय भएको उपत्यका बाहिरको कार्यक्रम रोकेको सचिवालयलाई जानकारी गराईसकेका छन् । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच शनिबार करिव ३ घण्टा लामो छलफल भएको थियो । सो भेटपछि राजनीति तरंगित भएको छ भने सत्ता समीकरण परिवर्तन हुने आशंका बढेको छ ।
प्रधानमन्त्रीसँग पनि निरन्तर भेट्दै
एमाले अध्यक्ष ओलीले आजै प्रधानमन्त्री प्रचण्डसँग पनि ३ घण्टा लामो छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष ओलीले बजारमा कांग्रेससँगको समीकरण बनाउने हल्ला चलेपनि त्यसमा विश्वास नगर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । साथै ओलीले प्रधानमन्त्रीलाई अहिलेको समीकरणमा कुनै समस्या नआउने विश्वास दिलाएका थिए । दुई शीर्ष नेताहरुबीच, बालुवाटारमा ३ घण्टा भन्दा बढि समय भएको भेटमा हालकै समीकरणलाई बलियो बनाएर जाने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कांग्रेस र एमालेका दोस्रो तहका नेता पनि छलफलमा
तर, ओलीले यस्तो दावि गरिरहँदा कांग्रेस र एमालेबीच सत्ता साझेदारीको नयाँ विकल्पमा छलफल अघि बढेको छ । उनीहरुले राजनीतिक स्थायित्वका लागि बलियो सरकार र संविधान परिमार्जनलाई सहकार्यका मुख्य आधारका रुपमा अघि सारेको चर्चा चलिरहेको छ । दुवै दलका दोस्रो तहका नेताहरुको धेरै चरणको छलफलपछि शनिबार देउवा ओलीलाई भेटन बालकोट पुगेको कुरा सार्वजनिक हुन थालेको छ । ओली निकटका केही नेताहरुले धेरै पहिलेदेखिको प्रयास बल्ल नतिजा उन्मुख भएको प्रतिक्रिया दिएका छन् । दुई दलबीच बलियो सरकार गठन गर्दै आधा–आधा समय कार्यकाल गर्न सकारात्मक रहेको विषय समेत बाहिरिन थालेको छ । देउवाले ओलीलाई नै पहिले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको कुरा पनि खुल्न थालेको छ ।
प्रधानमन्त्री प्रचण्ड नागरिक उन्मुक्ती पार्टी र जनमत पार्टीलाई पनि सरकारमा सामेल गर्न मन्त्री हेरफेरको प्रयासमा लागिरहेका बेला सत्ता समीकरण नै फेरबदल हुने चर्चा चलेको हो । एमाले र माओवादीबीच गत फागुन २१ गते मात्रै सत्तासाझेदारी भएको थियो । कांग्रेस र माओवादीबीच रहेको सत्ता गठवन्धन परिवर्तन गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेसँग सहकार्य गरेका थिए ।










