images
images

जनप्रतिनिधिको द्धन्द्धले शैलुङ गाउँपालिकाको आएन बजेट, तेस्रो पटक गाउँसभाको आह्वान

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले चालु आर्थिक वषको बजेट ल्याउनका लागि साउन२२ गते तेस्रो पटक गाउँसभाको आह्वान गरेको छ ।

पटक–पटक स्थगित भएको गाउँसभा तेस्रो पटक आगामी साउन २२ गतेलाई तोकिएको हो । आगामी गाउँसभाको बैठकबाट चालु वर्षको बजेट आउने गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले बताउनुभयो । यद्धपी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने बजेटका बिषयमा कार्यपालिकामा सहमति नजुटेका कारण गाउँसभा बस्न नसक्ने प्रतिक्रिया दिएका छन् । एमालेवाट निर्वाचित वडा अध्यक्ष दिलकुमार तामाङले कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि आफुहरु बाहिरिएको र गाउँसभा आह्वानको विषयमा कुनै सहमति नभएको बताउनुभयो ।

तर, गाउँपालिका अध्यक्ष श्रेष्ठले भने सकेसम्म गाउँसभाबाट सहमतिमै बजेट ल्याउने र नभए स्थानीय सरकार सञ्चालन ऐनमा भएको कानुनी व्यवस्था अनुसार भएपनि चालु वर्षको बजेट ल्याईने बताउनुभयो । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ मा गाउँसभामा ५१ प्रतिशत सदस्य नपुगेमा पुनः सभा आह्वान गर्ने र २५ प्रतिशत उपस्थितिले बजेट ल्याउन सकिने व्यवस्था भएकाले सोही अनुसार बजेट आउने उहाँको दावी छ ।

यसअघि पनि शैलुङ गाउँपालिकाले बजेट ल्याउन आव्हान गरेको गाउँसभा दुई पटक स्थगित भैसकेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउनअसार १० गते र साउन ५ गते बोलाएको गाउँसभा बैठक बजेट निर्माणमा सहमति नजुटि स्थगित भएको थियो । असार १० गते जनप्रतिनिधिबीच हात हालाहालको स्थिती पैदा भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा बहिष्कार गरेकाथिए । साउन ५ गते बजेट ल्याउने तयारी गरी गाउँसभा बैठक बोलाए पनि सो बैठक समेत बस्दै नबसी अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको थियो ।

जनप्रतिनिधिबीचको विवादले गाउँसभा पटक–पटक स्थगित हुँदा पालिकाले चालु वर्षको बजेट ल्याउन सकेको छैन । समयमै बजेट ल्याउन नसक्दा शैलुङ गाउँपालिकाको प्रशासनिक बाहेक आर्थिक कामकाज ठप्प छ । शैलुङ गाउँपालिको कार्यपालिकामा एमालेवाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेका कारण अध्यक्षलाई घेरावन्दी गरेर बजेट ल्याउननदिएको आरोप छ ।

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुले भने गाउँपालिकाका अध्यक्षले पेलेर बजेट ल्याउन खोजेको दावी गरेका छन् । एमालेवाट निर्वाचित जनप्रतितिधले जनसँख्याका आधारमा समानुपातिक बजेट विनियोजन हुनु पर्ने माग गरेका छन् ।