काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई नै पार्टी एकतामा लैजाने प्रस्ताव गर्नुभएको छ ।
पार्टीको आजदेखि सुरु भएको स्थायी कमिटि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरुसँगको एकताको छलफल सकारात्मक रहेको जानकारी दिनुभयो । समाजवादी मोर्चालाई केन्द्रमा मात्रै नभई प्रदेश स्तरमा कुरा राखेर मोर्चालाई पार्टी एकतामा लैजाुनपर्ने उहाँको भनाई छ । सो विषयमा सकारात्मक रुपमा छलफल भईरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
बैठकमा आन्तरिक र बाह्य परिस्थितिबारे व्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले सरकार हरेक हिसाबले असफल भईरहेको टिप्पणी गर्नुभयो । रहस्यमय तरिकाले बनेको सरकारले आफ्नोलाई जोगाउने र अरुलाई छानि छानि प्रतिशोध साँधिरहेको भन्दै उहाँले सदन र सडकबाट त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो ।
छैन बाबुराम भट्टराईसँग एकताको तयारी
पूर्व माओवादी घटकहरुसँग पार्टी एकताबारे छलफल गरिरहेको नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको दलसँग भने एकताको कुनै तयारी नरहेको जनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता अग्नी सापकोटाले माओवादी धारका सबै घटकसँग एकताको प्रयास र छलफल साकारात्मक भएपनि भट्टराईको पार्टीसँग भने एकताको तयारी नरहेको बताउनुभएको हो ।
बाबुराम भट्टराईसँग के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उहाँले डा. बाबुराम भट्टराई कम्युनिष्ट छाडेर नयाँ शक्तिमा जाुन भएकाले पार्टी एकताको कुनै चर्चा नरहेको बताउनुभयो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल र नेकपा एकीकृत समाजवादीसँगको छलफल भने सकारात्मक रहेको उहाँको भनाई छ ।
जागरण अभियान भदौ १५ बाट
नेकपा माओवादी केन्द्रको स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु हुने भएको छ । आज केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले भदौ मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे प्रस्ताव गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो ।
एजेण्डामाथि छलफलका लागि १० मिनेट समय
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठक तीन दिन सम्म चल्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा पेस भएका एजेण्डामाथि छलफलका लागि प्रत्यक सदस्यलाई १० देखि १५ मिनेटको समय दिईएको छ ।













