images
images

देवदास स्मृती सभामा दोलखाका ६ जना पत्रकार पुरस्कृत

  • १६ भाद्र २०७९, बिहीबार १४:२५

दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्वर्गीय देवदास श्रेष्ठको स्मृति सभामा दोलखाका ६ जना पत्रकार पुरस्कृत भएका छन् ।

पत्रकार महासंघ दोलखा जिल्ला शाखाले १७ औं देवदास स्मृति सभाको अवसरमा आज जिल्लाका ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो । यो वर्षको देवदास स्मृति पत्रकारिता पुरस्कारवाट महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष जिवन लामा सम्मानित भएका छन् । लामालाई नगद १० हजार सहित प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको हो । नेपाल पत्रकार महासँघ दोलखा शाखाका सँस्थापक अध्यक्ष स्वर्गिय देवदास श्रेष्ठको स्मृतिमा हरेक बर्ष दोलखाका एक जना क्रियाशिल पत्रकारलाई यो पुरस्कार दिने गरिएको छ ।

यो वर्षको पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारवाट पत्रकार बलराम खड्का पुरस्कृत भएका छन् । खड्का हाम्रो रेडियोका सञ्चालक समितीका उपाध्यक्ष एवँ जिरी एफएमका निर्देशक हुन् । यस्तै, यो वर्षको इन्द्रमणि स्मृति पत्रकारिता पुरस्कारवाट पत्रकार महासंघ दोलखा शाखाका कोषाध्यक्ष नविन खतिवडा पुरस्कृत भएका छन् । दोलखाका समाजसेवी स्वर्गीय माधवमणी राजभण्डारीले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा स्थापना गरेको इन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार खतिवडालाई दिइएको हो । उनलाई नगद १० हजार र सम्मानपत्र सहित सम्मान गरिएको छ ।

विकास पत्रकारिता पुरस्कारबाट पत्रकार लालकुमार मोक्तान सम्मानित भएका छन् । दोलखावाट पत्रकारिता सुरु गरेर हाल काठमाडौंमा टेलिभिजनमा कार्यरत मोक्तान १० हजार नगद र सम्मानपत्र सहित पुरस्कृत भएका हुन् । यसैगरी रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारवाट पत्रकार महासंघ दोलखा शाखाका संस्थापक शम्भु गौतम पुरस्कृत भएका छन् । गौतम १० हजार नगद र सम्मानपत्र सहित पुरस्कृत भएका हुन् । पुरस्कृत पत्रकारहरुलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।

मेहरमान फाउण्डेशन दोलखाले स्थापना गरेको हेमकृष्ण कुमारी प्रधान स्मृति महिला राष्ट्रिय पत्रकारिता पुरस्कार पनि देवदास स्मृति सभाकै अवसरमा बितरण गरिएको छ । नगद १५ हजार र सम्मानपत्र रहेको सो पुरस्कारवाट विनिता भण्डारी पुरस्कृत भएकी हुन् । उनलाई मेहरमान फाउण्डेशनका संस्थापक एवँ नेपाल सरकारका पूर्व महान्यायधिवक्ता मुक्ति नारायण प्रधानले नगद र सम्मान पत्र सहित सम्मान गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपसंकर चौंलागाईको अध्यक्षतामा सम्पन्न देवदास स्मृति सभा एवँ पुरस्कार वितरण कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, पूर्व महान्यायधिवक्ता मुक्ति नारायण प्रधान, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कुलवहादुर बुढाथोकी, एमाले जिल्ला अध्यक्ष नरवहादुर श्रेष्ठ, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण भण्डारी लगायतले दोलखाको पत्रकारिताको चुनौती र अवसरका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।