images
images

जनमुखी साकोसको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बाहेकका पदाधिकारीमा एकल उम्मेदवारी

  • १६ भाद्र २०८१, आईतवार १४:५४

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी सँस्थाको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

सहकारीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधव प्रसाद दाहाल, सीताराम दाहाल र बालकुमार दाहालको उम्मेदवारी परेको हो । तीन जनाको उम्मेदवारी परेपनि बालकुमारको उम्मेदवारी अयोग्य भएको निर्वाचन समितिले जनाएको छ । बालकुमारलाई निर्वाचन नीति २०८० को दफा ७ को उपदफा (ढ) र (ण) अनुसार अयोग्य ठहर गरिएको थियो । निर्वाचन समितिले बालकुमारको उम्मेदवारी अयोग्य ठहर गरेपछि अध्यक्षका लागि अब माधव र सितारामबीच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्ष बाहेक अन्य पदमा भने निर्विरोध भएको छ । सहकारीको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको संयोजक पदमा निर्विरोध भएको हो । साकोसको वरिष्ठ उपाध्यक्षका लागि गाीताकृष्ण शर्मा र शंकर बस्नेतको उम्मेदवारी परेपनि बस्नेतको उम्मेदवारी अयोग्य भएपछि शर्मा स्वतः निर्विरोध भएका छन् । उम्मेदवारले भरेको उम्मेदवारी दर्ताको आवेदन फारममा सदस्यता नम्वर ५२६९ मा उम्मेदवारको नाम मतदता नामावलीमा नभएपछि निर्वाचन समितिले बस्नेतको उम्मेदवारी अयोग्य भनेको थियो ।

सहकारीको महिला उपाध्यक्षमा कृष्णकुमारी बस्नेत, सचिवमा लक्ष्मण चौँलागाई, सहसचिवमा मोहनकुमार खड्का र कोषाध्यक्षमा तोयानाथ दाहालको एकल उम्मेदवारी परेकाले उनीहरु निर्विरोध भएका हुन् ।

सहकारीको लेखा सुपरीवेक्षण समितिमा दुई जनाको उम्मेदवारी परेपनि एक उम्मेदवार अयोग्य भएपछि निर्विरोध भएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा राजन केसी र माधवप्रसाद दाहालको उम्मेदवारी परेकोमा निर्वाचन समितिले केसीको उम्मेदवारी अयोग्य भनेपछि दाहाल स्वतः निर्विरोध भएका छन् । अध्यक्ष पदमा भने सहमति नजुटेमा निर्वाचन हुने भएको छ । मतदानको मीति पछि तोकिने निर्वाचन समितिले जनाएको छ ।