दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) क्षेत्रभित्र २ करोड बढीको यार्सागुम्वा संकलन भएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी हिमाली क्षेत्रमा करिव ३५ किलो यार्सागुम्वा संकलन भएको हो । संकलित यार्साको मुल्य २ करोड १० लाख भन्दा बढी रहेको छ । जिक्यापका अनुसार दोलखाको हिमाली क्षेत्रवाट मात्रै २४ किलो १६२ ग्राम यार्सा संकलन भएको छ ।
यस्तै, सिन्धुपाल्चोकवाट ९ किलो २५० ग्राम र रामेछापवाट १ किलो ८४० ग्राम यार्सा संकलन भएको जिक्यापका प्राबिधिक सब–ईन्जिनियर बिकासकुमार थापाले जानकारी दिनुभयो । दोलखामा सवैभन्दा बढी लामावगर क्षेत्रवाट १२ किलो ७०० ग्राम यार्सा संकलन भएको छ । लामावगरपछि चंखु–मार्वु क्षेत्रवाट ९ किलो ४६२ ग्राम र स्यामा क्षेत्रवाट २ किलो यार्सा संकलन भएको हो ।
जिक्यापका अनुसार सिन्धुपाल्चोकको फुल्पिङकट्टिवाट ९ किलो २५० ग्राम र रामेछापको गुम्देलवाट १ किलो ८४० ग्राम यार्सा संकलन भएको छ । जिक्यापको उच्च हिमाली क्षेत्रमा संकलन भएको यार्सागुम्वा प्रति किलो ४ लाखदेखि ६ लाख रुपैयाँसम्म कारोवार भएको छ । यार्सा संकलकहरुले संकलन गरेको करिव ३५ किलो यार्सागुम्बा विक्रिवाट २ करोड १० लाख भन्दा बढी रकम भित्रिएको अनुमान छ । यार्सा खरिदकालागि ठेकेदारहरु संकलन क्षेत्रमै पुग्ने गरेका छन् ।
यार्सागुम्वाको छोडपुर्जी दिए वापत गौरीशंकर संरक्षण क्षेत्रले ११ लाख ८ हजार ६२२ रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष यार्सागुम्वा निकासीका लागि प्रतिकिलो ३१ हजारका दरले राजस्व लिएर छोडपुर्जी दिईएको थियो । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा यार्सागुम्बा संकलन हुने गरेको छ । संरक्षण क्षेत्रले यार्सागुम्वा संकलनका लागि तीन वर्षमा एक पटक अनुमति दिने गरेको छ ।
गत आर्थिक वर्षको जेठ दोस्रो सातावाट असार मसान्तसम्म यार्सागुम्वा संकलनकालागि अनुमति दिइएको थियो । यार्सा संकलनकालागि दोलखा, रामेछाप र सिन्धुपाल्चोकका अलावा बिभिन्न जिल्लाका मानिसहरु उच्च हिमाली क्षेत्रमा पुगेका थिए । जिक्यापमा ३५ किलो २५२ ग्राम यार्साको राजस्व बुझाएर निकासी गरेको देखिए पनि संरक्षण क्षेत्रभित्रवाट त्यो भन्दा बढी यार्सा संकलन भएको अनुमान गरिएको छ ।
जिक्यापका प्रमुख तुलसी दहालले यार्सागुम्वाको संकलनलाई व्यवस्थित गराउने र चोरी निकासी नियन्त्रणको प्रयास गरिएको बताउनुभयो । जिक्यापले संरक्षण क्षेत्रभित्रका मानिसलाई प्रतिव्यक्ति ५ सय सम्बन्धित जिल्लावासीलाई १ हजार र बाहिरी जिल्लाबाट आएकालाई २ हजार शुल्क लिएर यार्सागुम्वा संकलनका लागि अनुमति दिने गरेको छ ।