images
images

रामेछापमा महिलाको कानको लोती चुडाएर गहना लुटपाट, एक युवक पक्राउ

  • १६ भाद्र २०८१, आईतवार १९:४९

रामेछाप । रामेछापमा महिलाको कानको लोती चुडाएर सुनको गहना लुटपाट गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको लिखुतामाकोशी गाउँपालिका–५ का १९ वर्षीय चन्द्र घिसिङलाई प्रहरीले गहना लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो । उनले एक महिलाले कानमा लगाएकै ठाउँबाट गहना लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) कौशल न्यौपानेले जानकारी दिनुभयो । प्रहरीका अनुसार घिसिङले साउन ३० गते सोही स्थानकी ६० वर्षीया सुन्तली तामाङको कानको लोती नै चुडाई कानमा लगाएको सुनको गहना (रिङ) लुटपाट गरी फरार भएका थिए । उनी वडा कार्यालयमा एकल भत्ता कार्ड नविकरण गरी घर फर्किने क्रममा कानमा लगाएको रिङ लुटिएको थियो ।

गहना लटेर फरार भएका घिसिङलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्र्यालय धोवीडाँडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट दुई थान सुनको रिङ पनि बरामद गरेको छ । घिसिङविरुद्ध रामेछाप जिल्ला अदालतबाट डाँका शीर्षकमा म्याद थप गरी अनुुसन्धान भईरहेको रामेछाप प्रहरीले जनाएको छ ।