images
images

डा. गोविन्द केसी दोलखामा, अस्पतालको ओपिडिमा बसेर सेवा दिने

  • १५ कार्तिक २०७९, मंगलवार ०९:५६

दोलखा । चिकित्सा शिक्षा सुधारको माग गर्दै लगातार आमरण अनसन बस्दै आएका डा.गोविन्द केसी दोलखा आएका छन् ।

नेपालका दुर्गम क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका केसी हिजो अकास्मात हिमाली जिल्ला दोलखा आइपुगेका हुन् । दोलखा आए लगत्तै केसीले दोलखा सदरमुकाम चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालबाट विरामीहरुलाई सेवा दिन थालेका छन् । सोमबार चरिकोट आएका केसीले विहिवारसम्म पशुपति चौंलागाई स्मृति अस्पतालको ओपिडिमा रहेर सेवा प्रवाह गर्ने बताएका छन् । विरामीहरुले विहिवारसम्म डा. केसीबाट होडजोर्नी सम्बन्धी सेवा लिन पाउने भएका छन् । नेपालका विभिन्न अस्पतालमा पुगेर निशुल्क स्वास्थ्य सेवा प्रवाह गरिरहेका डा.केसी हिजो एक्कासि चरिकोट आइपुगेका हुन् । उनले विहान ८ बजे अस्पताल पुगेर विरामीहरुको अवस्था बुझ्ने र १० बजेबाट ओपिडि सेवा दिने बताएका छन् ।

केसीलाई एक्लै ओपिडिमा रहेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको अस्पताल व्यवस्थापनले जनाएको छ । पशुपति चौंलागाई स्मृति अस्पतालका सुचना अधिकारी शान्ति न्यौपानेका अनुसार डा.केसीले खान र बस्नको व्यवस्था अस्पताल बाहिर आफैंले गरेका छन् । अस्पताललाई कुनै भार नपर्ने गरी केसीले हिजोबाटै सेवा सुरु गरेको नयौपानेले बताएका छन् ।

डा.केसी स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै अहिलेसम्म २० पटक आमरण अनसन बसिसकेका छन् । केसी अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् ।