दोलखा । दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चोकको कुरीमा अतिक्रमण गरी बनेका संरचनाको विषयमा १ सय ४२ जनाले लिखित जवाफ पेश गरेका छन् ।
कुरी क्षेत्रमा भौतिक संरचना निर्माण गरेकामध्ये १ सय ४२ जनाले मात्रै तोकिएको समय अवधिभित्र गाउँपालिकामा लिखित जवाफ पेश गरेका हुन् । कालिञ्चोक गाउँपालिकाले गत असोज १६ गते कुरी क्षेत्रका स्थानीयसँग छलफल गरी असोज ३० गतेभित्र कुरीमा भौतिक संरचना बनाएकाहरुले जग्गाको स्वामित्वका विषयमा लिखित जवाफ पेश गरिसक्न निर्देशन दिएको थियो । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले दिएको समय अवधिभित्र १ सय ४२ जनाले लिखित जवाफ पेश गरेको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष एवम् कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिका संयोजक कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा प्राप्त लिखित जवाफ मागि समितिले अध्ययन गर्न बाँकी छ । तिहार लगत्तै कुरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको विषयमा अध्ययन गरी समितिले प्रतिवेदन बुझाएपछि गाउँपालिकाले आवश्यक कदम चाल्ने तयारी गरेको छ ।
कुरीमा लामो समयदेखि भौतिक संरचना निर्माण गरेका तर लिखित जवाफ पेश नगरेकाहरुको हकमा के गर्ने भन्ने विषयमा पनि गाउँपालिकाले आवश्यक निर्णय गर्नेछ । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले कुरीमा बनेका संरचनाको प्रकार, बनाएको मिति, संरचना बनेको जग्गाको क्षेत्रफल, कुन आधारमा बनाइएको, कस्ले बनाएको भन्नेबारे तीन पुस्ते विवरण सहित पालिकामा लिखित रुपमा जानकारी गराउन निर्देशन दिएको थियो । कालिञ्चोक गाउँपालिकाले कुरीमा बनेका घर जग्गाको स्वामित्व खोज्न अध्ययन समिति नै गठन गरी काम सुरु गरेको हो ।
यसैबीच, कालिञ्चोक मन्दिर आसपासमा निर्माण गरिएका घरटहरा तिहार लगत्तै गाउँपालिका आफैंले हटाउने भएको छ । व्यक्तिलाई पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि पालिका आफैंले हटाउने तयारी गरेको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले जानकारी दिनुभयो । मन्दिर आसपास जथाभावी घरटहरा बनाउँदा मन्दिरको सौन्दर्यता विग्रँदै गएको छ । विश्व सम्पदा सुचीमा कालिञ्चोक मन्दिरलाई पनि समेट्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।



दुर्गा बस्नेत 






