images
images

नेपाल विद्युत प्राधिकरणको तीन महिनाको नाफा साढे ८ अर्ब

  • १५ मंसिर २०७९, बिहीबार १२:५४

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ ।

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ र असोजसम्म ८ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको हो । प्राधिकरणले सो अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आर्थिक वर्षको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु समेटिएको विवरण अनुसार प्राधिकरणले सो अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ ।

आफ्नो स्वामित्वमा रहेका विद्युतगृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिश्पर्धी बजारमा बिक्री गरी तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ । विद्युत चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा चालु वर्षको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।