images
images

बागमती प्रदेशमा अब सवारी लाइसेन्सका लागि ७० अंक प्राप्त गरे पास हुने

  • १५ मंसिर २०७९, बिहीबार १६:१७

काठमाडौँ । बागमती प्रदेशमा सवारी लाइसेन्समा ७० अंक आए पास हुने व्यवस्था लागू भएको छ ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरुलाई परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो । यसअघि ट्रायलमा १ सयमा १ सय अंक नै ल्याउनुपर्ने व्यवस्था रहेको थियो । सोही कारण अधिकांश मानिस सामान्य गल्तीले फेल हुने गरेका थिए । अब बागमती प्रदेशका सबै यातायात कार्यालयमा सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पुग्ने भएको छ । संघीय सरकारले २०७८ साल जेठबाट सबै ठाउँमा ७० अंक ल्याए पास हुने कार्यविधि व्यवस्था गरे पनि प्रदेश सरकार तयार नहुँदा लागू भएको थिएन । गत साउनमा पोखरामा संघीय मन्त्रीसहित सबै प्रदेशका यातायात मन्त्रीको बैठकमा ७० अंक लागू गर्न सहमत भएका थिए ।

परीक्षा स्थलमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने र परीक्षाका सबै चरण तथा गतिविधिहरुको भिडियो खिची कम्पनीमा ३० दिन विद्युतीय अभिलेख रहनुपर्ने व्यवस्था रहेको छ । यातायात व्यवस्था विभागले २०७७ चैत १९ गते जारी भएको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाबमोजिम कार्य गर्न परिपत्र गरेको छ । कार्यविधिको अनुसूची ७ मा परीक्षाका क्रममा कुनै तोकिएको अवस्थामा अनुत्तीर्ण घोषणा गरिएको अवस्थामा बाहेक न्यूनतम ७० अंक प्राप्त गर्नुपर्नेछ ।