images
images

दोलखामा पुनः निर्वाचन सम्पन्न, गैरीमुदीमा गाडी तोडफोड मिर्गेमा नारावाजी

  • १५ मंसिर २०७९, बिहीबार १७:२३

जिरी (दोलखा) । छिटफुट घटना बाहेक दोलखामा भएको पुनः निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

दोलखाका ४ मतदान केन्द्रका १० वटा बुथमा आज भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । मतदानका क्रममा पुतलीकाठ र मिर्गेमा भने केही तनाव भएको छ । बैतेश्वर २ पुतलिकाठस्थित जनज्योति माविमा भएको निर्वाचनमा सामान्य झडप र उम्मेदवारको गाडी तोडफोड भएको हो । पुतलीकाठमा एमाले र गठबन्धनका कार्यकर्ताबीच विवाद हुँदा सामान्य झडप हुनुका साथै गठबन्धनको तर्फबाट प्रदेशसभा १ मा उम्मेदवार बनेका कांग्रेस नेता कुण्दनराज काफ्ले चढेको गाडीमा ढुंगामुडा प्रहार भएको हो ।

यस्तै, बैतेश्वरको मिर्गेस्थित कालिढुंगा मतदान केन्द्रमा पनि नाराबाजी भएको छ । पुतलीकाठमा कांग्रेस उम्मेदवार काफ्लेको गाडीमा ढुंगामुडा प्रहार भएपछि मिर्गेमा कांग्रेसका कार्यकर्ताले एमालेका उम्मेदवार विरुद्ध नारावाजी र अवरोध गरेका छन् । दिउँसो मिर्गे मतदान केन्द्रमा पुगेका एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी विरुद्ध कांग्रेस कार्याकर्ताले नारावाजी र प्रदर्शन गरेका हुन् । आक्रोशित समुहले शिवाकोटी सवार गाडीमा पनि सामान्य तोडफोड गरेका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बुथ कब्जा भएको भन्दै एमालेले उजुरी दिएपछि दोलखाको बैतेश्वर गाउँपालिकास्थित बैतेश्वर मावि नाम्दु, कालिढुंगा मावि मिर्गे, जनज्योति मावि पुतलीकाठ र तामाकोशी गाउँपालिकाको जफेस्थित जामुने मतदान केन्द्रमा आज पुनः निर्वाचन भएको हो । आज भएको निर्वाचनमा बैतेश्वर गाउँपालिका २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा ९ सय ५५, बैतेश्वर ३ कालिढुंगा मावि मतदान केन्द्रमा १२ सय ३८, बैतेश्वर ६ को बैतेश्वर मावि मतदान केन्द्रमा १२ सय ३४ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन मतदान केन्द्रमा ८ सय ३० गरी जम्मा ४ हजार २ सय ५७ मत खसेको छ । आज निर्वाचन भएको ४ मतदानस्थलको १० बुथमा ८ हजार ५ सय १४ जना मतदाता रहेका थिए । तर, निर्वाचनमा ४९ दशमलव ९८ प्रतिशत मात्रै मत खसेको हो । यो निर्वाचनमा गत मंसिर ४ गतेको भन्दा १ हजार ३ सय २२ मत कम खसेको छ ।