images
images

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना सुरु

  • १५ मंसिर २०७९, बिहीबार २१:३२

जिरी (दोलखा) । दोलखामा मत गणना सुरु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना सुरु भएको हो । देशभरझै दोलखामा पनि गत मंसिर ४ गतेनै निर्वाचन सम्पन्न भएपनि नेकपा एमाले दोलखाको मागपछि ४ मतदानस्थलको १० बुथमा निर्वाचन दोहोरिएसँगै जिल्लाको परिणाम आउन ढिलाई भएको हो । तर, पुनः हुने निर्वाचन आज सम्पन्न भएपछि राती साँढे ९ बजेबाट मत गणना सुरु भएको छ । मतगणना प्रदेशसभा क्षेत्र नम्बर १ को  गौरीशंकर र २ को शैलुङ गाउँपालिकाबाट गन्न सुरु गरिएको छ ।

दोलखामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्की र एमालेबाट बालकृष्ण शिवाकोटी उम्मेदवार छन् । स्वतन्त्र लगायत अन्य दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा छन् । विशेषगरी दोलखामा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेपाली कांग्रेसका कुण्दनराज काफ्ले र नेकपा एमालेका नरबहादुर श्रेष्ठ तथा क्षेत्र २ मा गठबन्धनबाट कांग्रेसका बर्मा लामा र एमालेका भरत केसीबीच प्रतिस्पर्धा हुँदैछ । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ५२ जना उम्मेदवार बनेका छन् ।