images
images

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक, माघ ११ गते मतदान हुने

  • १५ मंसिर २०८०, शुक्रबार १४:४६

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाका अनुसार मंसिर २२ गते निर्वाचनमा सहभागी हुने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भएपछि मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम छ ।

पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदानगरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने छ । यस्तै, पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएको हो । पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको कार्य सञ्चालन हुनेछ ।