काठमाडौं । ट्याक्सीमा महिला बोकेर यौनधन्दा गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ भई बालाजु बस्ने सूर्य बहादुर तामाङ उर्फ प्रितम र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भई कागेश्वरी मनोरहरा बस्ने चेत बहादुर कटुवाल रहेका छन् । तामाङ बा २ ज ५१४३ नम्बरको ट्याक्सी चालक र कटुवाल बा २ ज ५१८६ नम्बरको ट्याक्सी चालक हुन् ।
उनीहरुले महिलालाहरुलाई ललाई फकाई गरी ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । दुईवटा ट्याक्सीमा सवार ६ जना महिलाको वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उद्धार गरेको छ ।
उनीहरुविरुद्ध प्रहरी वृत्त दरबारमार्गले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गतको कसुरमा अदालबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।