images
images

माओवादीमा यसरी हुँदैछ नयाँ नेतृत्व चयन

  • १८ पुष २०७८, आईतवार ०२:३१

नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया जारी छ। काठमाडौंमा जारी आठौं महाधिवेशन अन्तर्गत माओवादी केन्द्रको बन्दसत्र शनिबारदेखि चुनावी कार्यक्रमतर्फ अघि बढे पनि सहमतिको प्रयास पनि जारी छ।

शनिबार साँझसम्म सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरे पनि असफल भएपछि राति ८ बजेदेखि उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो।

तर पुनः सहमतितर्फ कुराकानी अघि बढेपछि माओवादी केन्द्रले निर्वाचन कार्यतालिका संशोधन गर्दै आज (आइतबार) लाई सारेको छ। केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ प्रकाशन गरेको संशोधित तालिकाअनुसार उम्मेदवारी दर्ता आज दिउँसो २ देखि ३ः३० बजेसम्म, दर्ता सूची प्रकाशन ३:४० बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने ४ बजेसम्मको समय तोकिएको छ।

यस्तै उम्मेदवारको विरोधमा उजुरी परेको सूचना अपराह्न ४:१० बजेसम्म, उजुरीमा छानबिन र निर्णय ४:३० बजेसम्म, उम्मेदवारको नामावली पुनस्प्रकाशचन ४:४० बजेसम्म गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

यस्तै मतदान साँझ ६:२५ देखि १०:२५ सम्म हुने भनिएको छ। यसअघि शनिबारै राति ८ देखि साढे १० बजेसम्म मनोनयन दर्तालगायत कार्यक्रम राखिएको थियो। यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जुटाएरै आज केन्द्रीय समिति सदस्यदेखि पदाधिकारीसम्म घोषणा गर्ने तयारी गरेका छन्।

तर सँगसँगै निर्वाचन कार्यतालिका पनि बनाइएकाे छ। प्रचण्डको तयारीअनुसार सहमतिबाट नेतृत्व घोषणा हुन सकेन भने मात्रै कार्यतालिका बमोजिम निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ।

माओवादी केन्द्रले विभाजन गरेको क्लस्टर अनुसार १५४ जना समानुपातिक र १४५ खुलाबाट केन्द्रीय सदस्य चुनिनेछन्। सहमति वा निर्वाचन जे भए पनि मापदण्ड यही हुनेछ।

समावेशिताका लागि माओवादी केन्द्रले दलित, पिछडिएकाे क्षेत्र, खसआर्य, जनजाति, मधेसी, थारु, मुस्लिम र अपाङ्ग क्लस्टर बनाएकाे छ। निर्वाचन आयोगका अनुसार शनिबार पारित भएको विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने छ।

यस्तै निर्वाचित केन्द्रीय समितिले १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ। केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ। माओवादी केन्द्रकाे केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।