images
images

माओवादी केन्द्रको महाधिवेशन: सहमति नभए २ बजेपछि निर्वाचन प्रक्रिया

  • १८ पुष २०७८, आईतवार ०३:२६

सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आठौं महाधिवेशनअन्तर्गत बन्द सत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ । महाधिवेशन आयोजक समितिले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भन्दै निर्वाचन प्रक्रिया स्थागित भएको हो। आयोजक समितिका निर्णयसँगै निर्वाचन समितिले कार्यतालिकासमेत हेरफेर गरेको छ। समितिले आज दिउँसो २ बजेपछि लागु हुने गरी नयाँ कार्यतालिका बनाएको छ।

संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३ बजेस्म्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ भने उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएको छ। उम्मेदवारको अन्तिम नामावली बेलुका पौने ६ बजे प्रकाशन गरिनेछ।

माओवादीको निर्वाचन आयोगका अनुसार आज बेलुका साढे ६ बजेदेखि राति साढे १० बजेसम्म चुनावका लागि समय निर्धारण गरिएको छ। शनिबार दिउँसोको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने भन्दै निर्वाचन कार्यतालिका स्थगित गर्ने प्रस्ताव गरेका थिए।

अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन भएपछि सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि महाधिवेशन आयोजक समितिमा दिनभर छलफल चलेको थियो। आयोजक कमिटीले दिनभर प्रयास गर्दा पनि सहमति नजुटेपछि पौने ७ बजे सुरु भएको बन्द सत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।