images
images

दोलखा सहित देशभर अत्याधिक चिसो, यसरी ख्याल राखौं नजवात शिशु, बालबालिका र वृद्धवृद्धाको

  • १८ पुष २०७९, सोमबार ०९:५६

केही दिनदेखि दोलखा, रामेछाप र सिन्धुपाल्चोक सहित देशभर अत्याधिक चिसो बढेको छ । अझै केहि दिन चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ । जिरी, जुम्ला, जोमसोम लगायतका स्थानको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा पनि चिसो बढेको छ । यो बेला जनजिवन कष्ठकर बनेको छ । चिसोमा वृद्धवृद्धा, साना बालबालिका तथा नवजात शिशु बढी प्रभावित हुन्छन् ।

अत्याधिक चिसोमा यसरी ख्याल राखौं नवजात शिशुको

हुनत अत्याधिक चिसोमा सबै उमेरका मानिसहरुको जनजिवन कष्ठकर हुन्छ । तर, जाडोमा शिशुलाई बढी जोखिम र कठिनाई हुने हुन्छ । यतिबेला न्यानो लुगा लगाइदिने गरिन्छ । कतिले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगामा लट्पटाउने गर्छन् । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ ।
पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ । शिशु एकदमै संवेदनसिल हुने र सानोतिनो कमजोरीबाट पनि गम्भीर समस्या आउन सक्ने हुन्छ । चिसोमा शिशुलाई रुघा लाग्ने, निमोनिया लाग्ने समस्या हुन्छ ।
चिसोमा बच्चाले धेरै पटक पिसाव फेर्छन् । पेट पनि बिग्रन सक्छ । त्यसैले बच्चाको कपडा समय–समयमा बदल्नुपर्छ । न्यानो कपडाले लपेटेर उचित समयमा हेरिविचार गरिरहनुपर्छ । त्यति मात्रै नभएर बच्चालाई जाडो मौसममा प्राकृतिक रुपमै न्यानो राख्न विभिन्न उपायहरु पनि अपनाउनुपर्छं । तोरीको तेल तताएर हल्कासँग बच्चाको शरीरमा मसाज गरिदिनुपर्छ । मसाज गरेपछि विहानको घाममा शरीर न्यानो बनाउन दिनुपर्छ । यो प्रयोग नियमित रुपले गर्दा शिशुलाई चिसो नलाग्ने र निमोनियाको भय नहुने चिकित्सकहरु बताउँछन् ।

यो बेला शिशुको छाला सुख्खा हुन्छ । यस्तोमा जैतुनको तेलले मालिस गर्नुपनि लाभदायीक हुन्छ । जसले रक्तप्रवाह गर्न मद्धत पुग्छ । साथै शिशुको प्रतिरोधात्मक क्षमता पनि बढ्छ । मसाज गरेको समयमा बच्चालाई न्यानो र आरमदयक स्थानमा राख्नुपर्छ । मासिल गरिसकेपछि नुहाइदिनुपर्छ । शिशुको छाला नरम हुने भएकाले साबुन ग्लिसरिनयुक्त हुनुपर्छ । यदि धेरै जाडो भएको समयमा सफा कपडा भिजाएर निचोर्ने र सोही कपडाले शिशुको शरीर राम्ररी पुछिदिने गर्नुपर्छ ।

यो सिजनमा शिशुलाई कपडाको एलर्जी पनि हुनसक्छ । उनीहरुलाई ऊनी कपडाको साटो सूती कपडा लगाइदिनुपर्छ । राती सुत्ने समयमा तुलसीको रस शिशुको नाक र तालुमा लगाइदिनुपर्छ । तुलसीको रसले चिसो लाग्दैन । तुलसीको रसमा थोरै मह मिसाएर चटाउन सकिन्छ । जाडोमा सामान्य ज्वरो, निमोनिया, ब्रोन्काइटिस, कानको संक्रमण, मस्तिष्क ज्वरो, भाइरल फिवर हुन्छ । धेरै ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा, आमाको दुध चुस्न छाडेमा, अत्याधिक सुस्त देखिएमा चिकित्सकोमा लैजानुपर्छ ।

वृद्धवृद्धा र बालबालिकाको हेरचाह

चिसो समयमा नबजात शिशुसँगै अन्य बालबालिका र वृद्धवृद्धाको हेरचाह सबैभन्दा महत्वपूर्ण हुन्छ । चिसोले गर्दा बालबालिकालाई निमोनिया लगायतका रोगहरु देखापर्न सक्छन् । त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ । साथै बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्वपूर्ण हुन्छ । तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा निमोनियाको सम्भावना हुने भएकाले घाम लाग्दै जाँदा शरीरमा भएका न्यानो कपडाहरुको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने गर्नुपर्दछ । पसिना आएमा कपडा फेरिदिनुपर्छ ।

बालबालिकासँगै वृद्धवृद्धाको पनि चिसोको समयमा धेरै ख्याल गर्नुपर्छ । चिसोको समयमा वृद्धवृद्धाको दम बढ्ने, श्वासप्रश्वासमा समस्या हुने हुँदा औषधि उपचार गर्ने र निरन्तर चिकित्सकको परामर्श लिने गर्नुपर्दछ । उनीहरुलाई घर बाहिर हिडडुलमा रोक लगाई झोलियो खानेकुरा खुवाएर घरभित्र न्यानो बनाएर राख्नुपर्दछ । कतिपय दीर्घ रोग लागेका बिरामीलाई चिसोको समयमा धेरै ख्याल गर्नु आवश्यक हुन्छ । जसले अचानक आउने जोखिम घटाउन सहयोग गर्छ । वृद्धवृद्धालाई चिसोमा रुघाखोकीसँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा पनि तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ । नियमित स्वास्थ्य जाँच गर्दा यसले दीर्घकालीन समस्या निम्तिनबाट रोक्न मद्दत गर्छ ।