images
images

जिरी माविको सुविधा सम्पन्न भौतिक संरचना छिट्टै निर्माण सुरु हुने, चिनियाँ टोलीद्धारा अवलोकन

जिरी (दोलखा) । चिन सरकारको अनुदानमा बन्ने दोलखाको जिरीस्थित जिरी माध्यमिक विद्यालय भवनको निर्माण कार्य अघि बढाउनेगरी तयारी सुरु गरिएको छ ।

विद्यालयको संरचनामा विनाशकारी भूकम्पले क्षति पुर्याएको ७ वर्ष वित्नै लाग्दा जिरी माविको विद्यालय भवनको निर्माण कार्य अघि बढाउनेगरी तयारी गरिएको हो । हिजो मात्रै चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरु स्थलगत अवलोकनका लागि आएका छन् । यो सँगै नेपाल र चिन सरकार बिच सम्झौता भइ वर्षाेसम्म निर्माण सुरू हुन नसकेको विद्यालय अब छिट्टै निर्माण हुने आशा पलाएको छ । २०७६ साल जेठ १४ गते नेपाल सरकार र चिनियाँ सरकारबीच कार्यान्वयन सम्झौता भएर सम्पुर्ण प्रक्रिया पुरा भएपनि चिनियाँ पक्षको कारण ढिलाई भएको थियो ।

चिन सरकारको अनुदानमा निर्माण हुने विद्यालय चिनियाँ कम्पनीलेनै निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गर्नेगरी दोलखाका तीन वटा विद्यालय निर्माणको जिम्मा लिएको थियो । सो मध्यको एक विद्यालय जिरी मावि हो । चिनियाँ ठेकेदार कम्पनी China 19th Metallurgical Corporation का म्यानेजर सहितका प्रतिनिधीहरू विद्यालयको स्थलगत अवलोकन तथा छलफलमा आएसँगै अब छिट्टै निर्माण कार्य थालनी हुने जिरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व प्रधानाध्यापक केशव कुमार कार्कीले जानकारी दिनुभयो । अबको दुई साताभित्र निर्माण टोली आइपुग्नेछ ।

हिमाली आवासीय विद्यालयको रूपमा निर्माण हुने यो विद्यालयमा छात्राबास सहित आधुनिक सुविधा सम्पन्न भौतिक पूर्वाधारको निर्माण हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताउनुभयो । जिरी माविका प्रधानाध्यापक कुमार जिरेलका अनुसार चिनियाँ प्रतिनिधिसँग विद्यालयको निर्माण कार्य छिट्टै अघि बढाउनेगरी छलफल भएको छ । जिरी माविको सुविधासम्पन्न विद्यालय भवन निर्माण सुरु भएको तीन वर्षभित्र सम्पन्न गरिसक्ने योजना रहेको छ । १ अर्ब १७ करोड लागतमा निर्माण हुने सुविधा सम्पन्न विद्यालयको भौतिक संरचना सम्पन्न गरिसकेपछि चिनियाँ पक्षले नेपाललाई हस्तान्तरण गर्नेछ । २०७० सालमा चीन सरकारबाट खटिआएको ‘चाइना साउथवेस्ट आर्किटेक्चर डिजाइन एण्ड रिसर्च इन्सटीच्युट कोअपरशेन लिमिटेड’ को टोलीले जिरी माविको डिजाइन र सर्वे गरेका थिए ।

विनाशकारी भूकम्प गएको ७ वर्र्ष सम्म विद्यालय भवन बन्न नसक्दा जिरी माविका शिक्षक विद्यार्थीहरु जस्ताको टहरामा बसेर पठनपाठन गर्दै आएका छन । अब सुविधा सम्पन्न विद्यालय बनेपछि ढिलै भएपनि जिरी माविको सो समस्या हट्नेछ ।