images
images

कटुवाचौर बजारको भीषण आगलागीमा यसरी जोगीयो मानिसको ज्यान

  • १९ माघ २०७९, बिहीबार ०९:४१

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा रातको समयमा भीषण आगलागी भएपनी स्थानीय आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।

गएराति ११ बजेदेखि रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट बजार क्षेत्रमा रहेका ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । तर कुनै मानविय क्षति भने भएको छैन । ओलीको घरमा आगो बलिरहेका बेला उनको घरमा टेलर सञ्चालन गर्दै आएका उत्तम ओलीका परिवार घरभित्र सुतिरहेका थिए । छिमेकिले ओलीको घरमा आगो सल्किरहेको देखेपछि उत्तमको श्रीमति र बच्चालाई ढोका फुटाएर बाहिर निकाले र उनीहरुलाई बचाउन सफल भए । त्यसपछि हल्लाखल्ला मच्चिएपछि सवैजना रातिको समयमा घरबाट बाहिर निस्किन सफल भए । स्थानीय उत्तम ओलीले आफु टेलरमा नभए पनि आफ्नो श्रीमति र बच्चा भाग्यले बाँचेको बताएका छन् । रातको समयमा लागेको आगोले गोपिलाल थामीको पक्की ढलान घर र उनको घर भाडामा लिएर स्थानीय ओम बहादुर थामीले सञ्चालन गरेको किराना पसल, राम बहादुर थामीको आफ्नै घरमा सञ्चालन गरिएको होटल, शंकर ओलीको घर र उनको घरमा स्थानीय कमला खातीले सञ्चालन गरिरहेको फलफुल तथा किराना पसल जलेर नष्ट भएको छ ।

यस्तै पुस्कर ओलीको घर र उनको घरमा गोपाल खातीले सञ्चालन गरेको फलामका कृषि सामाग्रीको पसल, सन्तोष सेढाईको घर र उनको घरमा नारायण गिरीले सञ्चालन गरेको फलफुत तथा खुद्रा सामाग्रीको पसल, दुर्गा ओलीले आफ्नै घरमा सञ्चालन गरेको कस्मेटिक पसल, चित्र प्रसाद सेढाईको घरमा भएको किराना पसल, नवराज सेढाइले आफ्नै पक्की घरमा सञ्चालन गरेको होटल तथा रुद्रबहादुर ओलीको घर र उनको घरमा उत्तम ओलीले सञ्चालन गरेको टेलर जलेको छ । जलेका सवैघर पक्की नै हुन् । जगदेखि पिलर उठाएका बनाइएका घरको माथि काठ र जस्ताको प्रयोग गरिएको थियो ।

सवैघरमा जस्तापाता लगाइएकाले आगो एक्कासि नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन् । आगलागीबाट करोडौंको क्षति भएको छ भने २५ देखि ३० वटा पशुचौपाया पनि मरेका छन् । रातिको समयमा लागको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, प्रहरी र भीमेश्वर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । नगरपालिकाको दमकल आइपुग्न ढिलाई भएकाले सडक छेउमै रहेका ९ वटा घर ध्वस्त भएको स्थानीयले बताएका छन् । कटुवाचौर बजार क्षेत्रका किराना पसलमा बेच्न राखिएका ग्यास सिलिन्डर आगलागी भएपछि धमाधम पड्कन थालेपछि स्थानीयले आगो नियनत्रणमा लिन नसकेका हुन् । स्थानीय रुद्रबहादुर ओलीको घरमा राखिएको परालबाट आगो सल्किएको भनिए पनि विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । घटनास्थलमा अहिले प्रहरीले क्षेतिको विवरण संकलन गरिरहेको छ ।