images
images

बागमती प्रदेशमा टुक्रे योजना र व्यक्तिलाई अनुदान बन्द गर्छौंः मुख्यमन्त्री जम्कट्टेल

  • १९ माघ २०७९, बिहीबार १९:५८

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्र सञ्चालन हुने ठुला आयोजना कार्यान्वयनका लागि मापदण्ड बनाउने बताउनुभएको छ ।

मुख्यमन्त्री भएपछि आज पहिलो पटक दोलखा आउनुभएका मुख्यमन्त्री जम्कट्टेलले टुक्रे आयोजनाले विकासमा गति नदिने भन्दै ठुला आयोजना कार्यान्वयनका लागि प्रदेश सरकारले तत्काल मापदण्ड निर्माण गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति दोलखामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठुलो बजेट विनियोजन गरेर योजना कार्यान्वयन गर्दा काम हुने तर वर्षेनि थोरै बजेट विनियोजन गरेर विकास नहुने भएकाले नयाँ योजना साथ प्रदेश सरकार अघि बढ्ने बताउनुभयो । टुक्रे आयोजना सम्बन्धीत पालिका र वडाले गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले थोरै आयोजना ल्याउने तर ठुला र तोकिएको समयमा सम्पन्न हुने गरी मापदण्ड जारी गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारले अनुदानको कार्यक्रम पनि कटौती गरेको जानकारी दिनुभयो । व्यक्तिलाई अनुदान नदिने तर समुदायलाई अनुदान वितरण गर्ने गरी अनुदान कटौती गरिएको मुख्यमन्त्री जम्कट्टेलको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले संघीयता कार्यान्वयनपछि प्रदेशभर कार्यालय छरिएर रहेको र यसले सेवा प्रवाहमा समस्या भएको उल्लेख गर्दै प्रदेशका सवै जिल्लामा एकिकृत कार्यालय सञ्चालनमा ल्याउने बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले जनतालाई सेवा दिने कामलाई पहिलो प्राथमिकतामा राखि काम गर्न कार्यालय प्रमुखहरुलाई निदेशन समेत दिनुभएको छ । उहाँले चरिकोटको पशुपति चौंलागाई स्मृति अस्पतालको व्यवस्थापन बागमती प्रदेश सरकारले नै गर्ने बताउनुभएको छ । त्यसका लागि कर्मचारी व्यवस्थापनको काम भइरहेको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।

संघीयतालाई बलियो बनाउनुपर्छ मन्त्री श्रेष्ठ

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संघीयतालाई बलियो बनाउन वैचारिक र नितिगत रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न स्थानमा विचौलिया हावि हुने भन्दै यसतर्फ अध्ययन गर्ने बताउनुभयो । एकिकृत, वैचारिक र नितिगत काम गर्न बाँकी नै रहेको भन्दै उहाँले कुनै पनि क्षेत्रका विचौलिया हावि हुन नहुने बताउनुभयो । कार्यक्रममा बागतमी प्रदेशका पुर्व बन तथा बातावरण मन्त्री विशाल खड्काले प्रदेश सरकारले दोलखालाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने बताउनुभएको छ । हरेक हिसावले दोलखा अब्बल रहेको भन्दै उहाँले जिल्लामा थालनी भएका कामलाई पुर्णता दिन बजेट विनियोजन गर्दा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश युवा परिषदको कार्यालयको पनि उद्धघाटन गर्नुभएको थियो ।