images
images

मुख्यमन्त्री र मन्त्रीहरुले भेटे कालिञ्चोकका आगलागी पिडित, आवास निर्माणका लागि सहयोग गर्ने

  • १९ माघ २०७९, बिहीबार २२:५९

जिरी (दोलखा) । बागमती प्रदेश सरकारले दोलखाको कालिञ्चोक गाउँपालिकाका आगलागी पिडितको आवास निर्माण गर्न  सहयोग गर्ने भएको छ ।

बागमती प्रदेश सरकारले कालिञ्चोक गाउँपालिका–९ कटुवाचौर बजारका आगलागी पिडितको ९ घर निर्माणका लागि सहयोग गर्ने भएको हो । आगलागी पिडितलाई भेट्न कटुवाचौर पुग्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले यस्तो प्रतिवद्धता जनाउनुभएको छ । आज विहान मात्रै दोलखा आइपुग्नुभएका मुख्यमन्त्री, मन्त्री र बागमती प्रदेश सरकारका निवर्तमान वन तथा वातावरणमन्त्री विशाल खड्का आगलागी पिडितलाई भेट्न आज साँझ घटनास्थल पुग्नुभएको थियो । सो क्रममा मुख्यमन्त्री जम्कट्टेलले आगलागीमा परि नष्ट भएका ९ घरको बास निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले दोलखाबाट फर्किने वित्तिकै क्याविनेटमा प्रस्ताव लैजाने पनि बताउनुभयो । तत्कालका लागि खाना बस्नको व्यवस्था स्थानीय सरकार र जिल्लाबाट हुने भन्दै नपुगेको खण्डमा प्रदेशमा माग गर्न पनि स्थानीय पिडितहरुलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री र मन्त्रीहरु घटनास्थल पुगेपछि स्थानीय आगलागी पिडितहरुले आफुहरुलाई आवश्यक सहयोग गरिदिन माग गरेका थिए । सो क्रममा मुख्यमन्त्री जम्कट्टेल र मन्त्री श्रेष्ठले आफुहरुले पुरै क्षतिपूर्ती दिने सम्भावना नरहेपनि घर बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । जग्गाको भने पिडित आफैले व्यवस्थापन गर्न भनिएको छ ।

कटुवाचौरमा गएराती करिब ११ बजे आगलागी हुँदा बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो ।