
जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले जिरी भ्रमण वर्ष २०२५ मनाउन लागिरहँदा पर्यटकलाई खाना र बस्नको लागि रेट निर्धारण गरेको छ ।
जिरी आउने पर्यटक तथा पाहुनाहरुलाई खाना बस्नको लागि व्यवस्थापन लगायत आतिथ्यतालाई व्यवस्थित गर्न जिरीस्थित होटल लजहरुमा दररेट निर्धारण गरिएको हो । जसअनुसार एटेज बाथरुम कोठा, सादा खाना विहान, बेलुकी र खाजा एक पटकलाई प्रतिव्यक्ति एक हजार रुपैंया रेट तोकिएको छ ।
एटेज बाथरुम कोठा, चिकेन खाना विहान, बेलुकी र खाजा एक पटकको लागि प्रतिव्यक्ति १२ सय र एटेज बाथरुम कोठा, मटन तथा लोकल चिकेन खाना विहान, बेलुकी र खाजासहित एक पटकमा प्रतिव्यक्ति १५ सय रुपैंया लिनेगरी रेट तोकिएको नगरप्रमुख मित्र बहादुर जिरेलले बताउनुभयो ।
भ्रमण वर्ष सफल बनाउने तयारीमा जुटिरहँदा होटल व्यवसायिहरुसँग समेत छलफल गरी रेट निर्धारण गरिएको उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काको भनाई छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जिरी भ्रमण वर्षलाई सफल बनाउनको लागि होटल व्यवसायीहरुले गर्ने स्वागत तथा सेवा सुविधा पनि महत्वपूर्ण हुने भएकाले यसतर्फ सबै व्यवसायिहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
जिरी भ्रमण वर्षलाई सफल बनाउन र पछिल्लो समय सुस्ताएको होटल व्यवसायलाई चलायमान बनाउन पनि आफुहरु पर्यटकलाई सहुलियत रेटमा सेवा दिन तयार रहेको होटल व्यवसायीहरु बताउँछन् । अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु भएसँगै जिरीमा जिरी भ्रमण वर्षको तीब्र तयारी भैरहेको छ ।