सिन्धुपाल्चोक । करेन्ट लागेर एक बालिकाको मृत्यु भएको विषयलाई लिएर सिन्धुपाल्चोकमा निर्माणाधीन एक जलविद्युत आयोजनामा स्थानीयको एक समुहले आगजनी गरेको छ ।
जुगल गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन ३५ मेगावाट क्षमताको न्यासिम खोला जलविद्युत आयोजनामा स्थानीयको एक समुहले आगजनी गरेको हो । मानेभञ्ज्याङ स्थित नेपाल विद्युत प्राधिकरणको वितरण लाइनमा भएको विद्युत चुहावटबाट एक बालिकाको मृत्यु भएको विषयलाई आधार बनाएर सो घटनासँग असम्बन्धीत सिता हाइड्रोपावरमा आगजनी, तोडफोड र कर्मचारीमाथि कुटपिट भएको छ । सिता हाइड्रोपावरका कार्यकारी अध्यक्ष सिताराम तिमल्सिनाले आगजनी र तोडफोडबाट करिव १२ करोड बराबरको भौतिक क्षति भएको र इन्जिनियर सहित सात जना घाईते भएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत आयोजनासँग सरोकार नराख्ने करिव ५ किलोमिटर टाढा करेन्ट लागेर स्थानीय एक बालिकाको मृत्यु भएको विषयलाई लिएर वडाध्यक्ष तथा सदस्यको समेत संलग्नतामा तोडफोड र आगजनी भएको हो ।
आक्रमणबाट आयोजनाको आवासिय भवन, विद्युतगृह, सुरुङ, ट्रिपर, स्काभेटर लगायतमा ठुलो क्षति भएको छ । जुगल गाउँपालिका वडा नम्बर ३ की १४ वर्षिया नुर्जी वाङमु तमाङको बारीमा आलु रोप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको घटनालाई लिएर स्थानीयले आयोजनामा तोडफोड गरेका हुन् ।