
दोलखा । नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाको ४२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको वागमती प्रदेशसभा सांसद भरत केसीले उद्घाटन गर्नुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष भीम केसीले आर्थिक प्रगति प्रतिवेदन पेश गर्दै शाखाले विभिन्न शीर्षकमा कूल ४३ लाख ६२ हजार ६ सय ६२ रुपैयाँ आम्दानी र कुल ४२ लाख ५५ हजार ४ सय ३ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । साधारण सभाको अवसरमा संस्थाका मन्त्री भरतनारायण प्रधानले रेडक्रस दोलखा शाखाले गत वर्ष सम्पन्न गरेका गतिबिधिहरु, चालु आर्थिक वर्षको माघ मसान्तसम्म गरेका कार्यक्रमको प्रतिवेदन र आगामि आर्थिक वर्षको प्रस्तावित कार्यक्रहरु पेश गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखामा २४ वटा उपशाखाहरु गठन भई सञ्चालनमा रहेका छन् । जिल्लाभरी बिद्यालयस्तरका ६० वटा जुनियर तथा युवा रेडक्रस सर्कलहरु क्रियाशील छन् ।
कार्यक्रममा रेडक्रस जिल्ला शाखा दोलखाकी उपसभापति रिता रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । रेडक्रस दोलखा शाखाले साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्षद्धय सिर्जना थापा खड्का र सिर्जन कुमार घिमिरे तथा पत्रकारहरु बाबुराम शर्मा, गोकर्ण भण्डारी र तारादेवी बस्नेतलाई सम्मान गरेको छ ।
यस्तै, तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, स्वास्थ्य कार्यालय दोलखा, भीमेश्वर नगरपालिका वडा नम्बर ४ पनि सम्मानित भएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी दहालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।