
दोलखा । दोलखाको शैलुङ गाउँपालिका–७ स्थित साँगुते माविको स्वर्ण महोत्सव सम्पन्न भएको छ ।
साँगुते माविको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि शनिवार सम्पन्न भएको हो । वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन खड्काको अध्यक्षतामा सम्पन्न स्वर्ण महोत्सबको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले उद्धघाटन गर्नुभयो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अन्तरपालिका मावी स्तरीय भलिबल प्रतियोगिता, जिल्लास्तरीय वक्तित्वकला तथा पालिकास्तरीय हाजिरिजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिनुका साथै विद्यालयमा अक्षयकोष स्थापना गर्ने, जग्गादाता, पूर्व प्रअ, पूर्व विव्यस अध्यक्ष लगाएतलाई सम्मान पनि गरिएको छ ।
स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको स्मारिका पनि विमोचन गरिएको विद्यालयका प्रधानध्यापक नारायण बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका नेता तारा खड्का,शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, उपाध्यक्ष पार्वती कार्की, दोलखाका प्रहरी प्रमुख, डिएसपी ज्ञानकुमार महतो, एकीकृत अखिल नेपाल शिक्षक संगठन दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।