images
images

नेपाल र भारतका प्रधानमन्त्रीद्धारा नेपाल रेल सेवाको उद्घाटन

  • १९ चैत्र २०७८, शनिबार १३:०७

काठमाण्डौ । बहुप्रतिक्षित नेपाली रेलको उद्घाटन भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । उदघाटनपछि भारतको जयनगरबाट रेल गुडेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् । उद्घाटनअघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो । जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितकाले सम्बोधन गर्नेछन् ।

यसैबीच, प्रधानमन्त्री देउवा र मोदीले नयाँ दिल्लीबाट आज भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गर्नुभएको छ । भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १ सय ३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । आज भारतको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका स्वास्थ्यचौकीको उद्घाटन भएको छ । भारतको सहयोगमा पुनर्निर्माण भएका १ सय ३२ स्वास्थ्यचौकीको प्रगति अवलोकन र उद्घाटन गरिएको हो ।